काठमाडौं:= चलचित्र ‘लाखे’का लागि १० अडिशनबाट कलाकार छनौट गरिएको छ । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा एक अडिशन गर्दै चलचित्रका लागि एक सहअभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्नुहुनेछ ।
फिल्मका लागि अडिशनमार्फत पहिलो चरणमा सहनायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर विष्ट, सुजन ए.परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहनुभएको छ । दुई सय बढी व्यक्तिले फिल्मका लागि अडिशन दिएको कार्यकारी निर्माता हरिमल्ल ठकुरी कार्यकारीले बताउनुभयो ।
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायत कलाकारको अभिनय रहने फिल्मका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी छ ।
ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पूरै नसमेटिएको निर्देशक बस्नेतले बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले फिल्मको नाम लाखे जुराएको हो ।’ चलचित्रको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुनुहुन्छ । कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेशमल्ल ठकुरीको प्रस्तुकर्ता र हरिमल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएको छ ।




















