चितवन:= नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरूले महाधिवेशनताका आशाअनुरूपको व्यापार नभएको गुनासो गरेका छन् ।
महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरू सौराहा र नारायणी किनारमै केन्द्रित भएकाले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरू बताउँछन् । महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्र्रतिनिधिहरू अधिकांशले सौराहामा नै होटल बुकिङ गरेको र दिउँसोको समयमा अन्यत्र घुम्न जान नपाएकाले पनि अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यापारीहरूको बुझाइ छ ।
कोरोना संक्रमणको जोखिमले बन्द भएको होटल पर्यटनलाई महाधिवेशनले जीवन दिएको भन्दै चौतर्फी चर्चा भए पनि सौराहा आसपासलाई भने सकारात्मक प्रभाव पार्न सकेन । देशभरबाट प्रतिनिधिहरू आउने भएपछि व्यापार फस्टाउँछ भन्ने सोचे पनि त्योअनुसार व्यापार नभएको साना व्यवसायीहरूको गुनासो छ । आयोजक पक्षले सौराहा र नारायणी किनारलाई मात्रै केन्द्रित नगरी विभिन्न चोकतिर पाहुनाहरूका लागि आकर्षक कुरा राखिदिएको भए साना व्यवसायीहरूको व्यापार फस्टाउने उनीहरूको भनाइ छ ।
साना व्यवसायीहरू समेट्न मानिस र सवारीसाधनको भिडलाई व्यवस्थित गरी अन्यत्र ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था गर्दै पैदल जाने व्यवस्था गर्न सकेको भए आफूहरूले पनि व्यवसाय उकास्ने मौका पाउने आशा गरेको उनीहरूले बताए । कार्यक्रम ठूला होटल र रेस्टुरेन्टमा मात्रै केन्द्रित हुँदा देशभरका मानिसहरूले स्थानीय खानाको स्वाद लिन नपाएको पनि व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरू महाधिवेशनमा गएका पाहुनाहरूलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरे पनि अपेक्षाअनुसारको व्यापार नभएको बताउँछन् । महाधिवेशनस्थलमा आयोजकहरूले साना व्यवसायीहरूका लागि छुट्टै स्टलको व्यवस्था गरेको भए साना व्यवसायीहरू पनि लाभान्वित हुन सक्ने उनीहरूको दाबी छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन गत मंसिर १० देखि १४ गतेसम्म सञ्चालन भएको थियो ।




















