राप्रपा महाधिवेशन : अध्यक्षमा पराजित थापा समूहको पदाधिकारीमा भने बर्चस्व।

काठमाडौ:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो ।उहाँका निकटतम् प्रतिस्पर्धी कमल थापाले एकहजार ६१७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ५३१ मत बदर भएको थियो ।

भर्खरै घोषणा भएको अन्तिम  परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी हुनु भएको छ ।खुल्ला उपाध्यक्षमा विक्रम पाण्डेले सर्वाधिक मत ल्याएर विजयी हुनु भयो । पाण्डे दुवै प्यानलबाट साझा उम्मेदवार बन्नु भएको थियो । उहाँले सर्वाधिक  २५२१ मत ल्याउनु भयो ।

थापा प्यानलबाट उम्मेदवार बन्नु भएको बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी हुँदा सोही प्यानलको ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी बन्नु भयो । महिला उपाध्यक्षमा थापा प्यानलकी उम्मेदवार  रोशन कार्कीले १६८९ भोट ल्याएर विजयी हुनु भयो।

महामन्त्रीको प्रतिस्पर्धामा भने लिङदेन पक्षका धवलशम्शेर राणाले २२२१ भोट ल्याएर विजयी बन्नु भयो। अर्का उमेदवार थापा पक्षका भुवन पाठकले १८०५ भोट ल्याएर विजयी हुनु भयो ।

महिला महामन्त्रीतर्फ लिङ्देन पक्षबाट उम्मेदवार बन्नु भएकी नायिका रेखा थापालाई पराजित गर्दै थापा समूहकी कुन्ती शाही विजयी हुनु भयो । शाहीले २००८ मत ल्याउनु भयो । महिला महामन्त्रीमा रेखा थापाले १६४० भोट ल्याउनु भएको छ ।