काठमाडौं:= पछिल्लो समय नेपाली चलचित्रहरू पनि हिन्दी भाषामा डबिङ हुन थालेका छन् । ठूलो बजेटमा निर्माण भएका केही चलचित्रहरू भारतका विभिन्न हलमा प्रदर्शन हुन थालेका छन् । यसैबीच निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेमगीत ३’लाई हिन्दीमा डब गरेर भारतका हलमा प्रदर्शन गर्दै हुनुहुन्छ ।
यस्तै अर्को प्रतिक्षित चलचित्र ‘प्रकाश’ लाई पनि हिन्दीमा डब गरिने भएको छ । निर्माता महेन्द्र अधिकारीले भारतका विभिन्न शहरका हलमा हिन्दी डब र नेपाली भाषामा फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । केही हप्तामा चलचित्रको हिन्दी डबको काम सुरु हुने उहाँको भनाइ छ । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डब गरेको भारतीय टिमले नै ‘प्रकाश’को पनि हिन्दी डब गर्ने बुझिएको छ ।
यसबीच, बिहीबार यो चलचित्रको डिजिटल राइट्स बिक्री भएको छ । डिएआर मुभिजले यो चलचित्रको डिजिटल राइट्स खरिद गरेको हो । हालसम्मकै महँगो रकममा चलचित्रको डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताउनुभयो । चलचित्रको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन । केही दिनमा पोस्टर रिलिज गरेर फिल्मको प्रदर्शन मिति घोषणा गर्ने निर्माण टिमको तयारी छ ।
दिनेश राउत निर्देशित चलचित्रमा प्रदीप खड्का, रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतको अभिनय छ । विकास सुवेदीको कथा रहेको यस चलचित्रमा राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन छ ।




















