बुटवलमा ‘गार्डेन मार्ट’ को १५ औँ शाखा।

बुटबल:= शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटवलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यावसायिक हब र औद्योगिक नगरी बुटवलको योगीकुटी चोकमा सहकारीले २३औँ सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।

शनिबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट उद्घाटन गर्दै प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने भएकाले मार्टको सञ्चालनबाट स्थानीय उपभोक्ता लाभान्वित हुने बताउनुभयो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार बुटवलमा सञ्चालनमा आएको गार्डेन मार्टको १५औँ शाखा हो, यसअघि सहकारीले डडेल्धुरा, भक्तपुरको कमलविनायक, कीर्तिपुर, ललितपुरको ठैब, मकवानपुरको हेटांैडा, चितवनको टाँडी, पोखरा, बाग्लुङ, दाङको तुल्सीपुर, बाँकेको नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको दमक र उदयपुरको गाईघाटमा गार्डेन मार्ट सञ्चालनमा ल्याइसकेको छ।

भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको सहकारीले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभरूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको हो ।

उपभोक्ताले एउटै छानामुनि आधुनिक किनमेलको अनुभव पाऊन् भनेर गार्डेन मार्ट सञ्चालनमा ल्याएको कार्यकारी अधिकृत गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो मार्टमा उपभोक्ताले सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु किनमेल गर्न पाउनेछन् ।’

कार्यकारी अधिकृत गौतमका अनुसार मार्टमा उपभोक्ताले उपकार ब्रान्डका चामल, दाल, चियापत्ती, चकलेट, घिउ, महलगायतका दैनिक उपभोग्य सामग्री, विद्युतीय सामग्री, लत्ताकपडा, शृंगार सामग्री, स्टेशनरी, जुत्ता, ब्यागलगायत खरिद गर्न पाउनेछन् ।

शुभारम्भका अवसरमा मार्टले सम्पूर्ण सामग्रीमा विशेष छुटसमेतको व्यवस्था गरेको कार्यकारी अधिकृत गौतमले जानकारी गराउनुभयो । सहकारीले मुलुकभर छ सय ७५ जनालाई रोजगारी प्रदान गरेको छ ।