रेश्मासहित पाँचजना भलिबलको बन्द प्रशिक्षणबाट बाहिरिए।

काठमाडौं:= चर्चित स्पाइकर रेश्मा भण्डारीसहित राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिनुभएको छ । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट १५ जना छनोट गर्दा पाँचजना खेलाडीको नाम काटिएको हो ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी रहनुभएको छ । लामो समयदेखि राष्ट्रिय टोलीबाट छुट्टिएकी रेश्माले दक्षिण एसियाली खेलकुद सागमा पहिलोपल्ट नेपाली महिला टोलीले रजत जित्दा रेश्मा टोलीकी महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।

अब बन्द प्रशिक्षणमा प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषाकुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र सरस्वती जैशी रहनुभएको छ ।

महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा तयारी गरिरहेको छ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।