दिनमा आठवटासम्म गीत रेकर्ड गर्ने देवी घर्ती।

[ गोपिकृष्ण चापागाईं ] 

काठमाडौं:= नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय नाम हो देवी घर्ती । प्रायः सार्वजनिक हुने लोकदोहोरी गीतमा देवीको स्वर सुनिन्छ । देवीले डेढ दशकमाथिको सांगीतिक यात्राको क्रममा झण्डै ६ हजार गीत गाइसक्नुभएको छ ।

देवीले स्वर दिएका गीतमध्ये ‘बिर्सियौ कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘चरी मधुवनभरि’, ‘जिम्बल बाको आँगनीमा’, ‘यही चाल होला भन्या भा’, ‘गण्डकी पौडेर’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘उही खोलीमा पानी’, ‘हाँस्न सिकायौं’, ‘बदला बरिलै’लगायत दर्जनौं गीत अत्यधिक हिट छन् । बाग्लुङको रमुवा गाउँबाट विसं २०६१ सालमा काठमाडौं आइपुग्नुभएकी देवीले सुरुवातमा दोहोरी साँझबाट आफ्नो गायन यात्रा सुरु गरेको सम्झिनुहुन्छ ।

‘काठमाडौंमा म गायिका बन्छु भनेरै आएकी थिएँ, सुरुमा दोहोरी साँझमा गीत गाउन सुरु गरेँ र पछिमात्रै गीत रेकर्ड गर्ने मौका पाएकी हुँ’, देवीले सुनाउनुभयो, ‘अन्य साथीहरूले वर्षांैसम्म दोहोरी साँझमा काम गरेपछि गीत रेकर्ड गरेको पाइन्छ तर मेरो हकमा त्यस्तो धेरै दुःख भएन ।’

गायिका देवीले गाउँकै दिलु सलामी मगरले काठमाडौंको लालीगुराँस दोहोरी साँझ बसपार्कमा काम लगाइदिनु भएको सम्झिनुहुन्छ । दोहोरी साँझमा यसै गएको बेला गीत गाउने अफर गरेर एक गीत गाएसँगै दोहोरी सञ्चालकलाई देवीको स्वर मनपरेपछि सोही दिनबाटै उहाँलाई जागिर मिलेको थियो ।

देवीको स्वरमा रेकर्ड भएको पहिलो गीत ‘बतासले रुमाल फरर’ हो । उहाँलाई खड्ग गर्बुजाले पहिलो गीत गाउने अवसर दिनुभएको थियो । देवी भन्नुहुन्छ, ‘दोहोरी साँझमा खड्ग गर्बुजा दाइ आउजाउ गर्नुहुन्थ्यो । त्यो बेला उहाँले नयाँ एल्बम गर्ने तयारीमा हुनुहुँदो रहेछ र मेरो आवाज मनपर्‍यो भनेर मलाई अवसर दिनुभएको थियो ।’

देवीको पहिलो गीतले सामान्य चर्चा पाए पनि त्यसपछि उहाँलाई गीत गाउन अफर आउन थाल्यो । एकपछि अर्को गर्दै देवी गीत रेकर्ड गर्न यतिधेरै व्यस्त हुनुभयो कि दैनिकजसो गीत रेकर्ड हुन थाले । देवीलाई त्यो समयमा मिलन लामासँग गाएको ‘झल्को लाली ओठको’को गीतले दर्शक तथा श्रोता माझ अझ बढी चिनायो ।

देवीले आफू अत्यधिक व्यस्त भएको समयमा एक दिन आठवटा गीतसम्म रेकर्ड गरेको सम्झिनुहुन्छ । उहाँलाई त्यसपछि कहिल्यै फर्केर हेर्नुपरेन । १२ वर्षअघि नै गायक राजु ढकालसँग अन्तरजातीय बिहे गर्नुभएकी देवीको ९ वर्षीय छोरा हुनुहुन्छ । बिहेपछि झनै सजिलो भएको देवी सुनाउनुहुन्छ ।

देवीले भन्नुहुन्छ, ‘एकै क्षेत्रको भएर होला धेरै कुरा मिल्छ । बिहेपछि झनै सजिलो भएको छ ।’ देवी र राजुको सहकार्यमा ‘बिहे गरेर हो’, ‘वर्षदिन भो’, ‘लौरी हरायो’, ‘दुई बिसेले छोयो’लगायत गीत सार्वजनिक छन् । साथै यो जोडीले काठमाडौंको सामाखुसीमा एक रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आइरहेको छ ।

देवीले गाउनुभएको ‘मै जन्मेको धान्दु्रक गाउँ’ गीत चार दिनअघिमात्रै सार्वजनिक गरिएको छ । यस्तै एक महिनाअघि ‘मनमाया’ गीत पनि लोकप्रिय बन्दैछ । देवीले केही दिनअघिमात्रै स्वर भर्नुभएको ‘पन्चेबाजा’ गीत आउदो साता सार्वजनिक हुँदैछ । जुन गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले अभिनय गर्नुभएको छ । उक्त गीतमा देवीलाई गोविन्द पौडेलले साथ दिनुभएको छ ।

गायिका देवीले गायनका विभिन्न प्रतियोगीताहरूमा भाग लिँदै जित्दै पनि आउनुभएको छ । विसं २०६२ सालमा बुटवलमा भएको दोहोरी गीत प्रतियोगितामा प्रथम हुनुभएको थियो । यस्तै २०६३ मा काठमाडौं र ग्यादीमा भएको दोहोरी गीत प्रतियोगीतामा पनि प्रथम स्थान हासिल गर्नुभयो । देवीले २०६६ सालयता थुप्रै अवार्ड तथा सम्मान पाउनुभयो ।

२०६६ सामा गोरखा एफ.एम.ले वेष्ट महिला गायिकाको सम्मान गरेको थियो । यस्तै पछि अन्नपूर्ण, कालिका, कान्तिपुर, स्टारलगायत रेडियोहरूले आयोजना गरेका अवार्ड तथा सम्मान कार्यक्रममा उहाँलाई वेष्ट गायिकाको अवार्ड तथा सम्मान दिएका थिए ।

विसं २०६८ मा म्युजिक खबर म्युजिक अवार्ड, राष्ट्रिय स्रष्टा सम्मान, त्यसैगरी २०७० मा छिन्नलता प्रतिभा पुरस्कार, नुरगंगा प्रतिभा पुरस्कार, बिन्दावासिनी म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्ड, योङ्ग माइण्ड म्युजिक अवार्ड प्राप्त गर्नुभयो ।

देवी सांगीतिक यात्राकै लागी कोरिया, हङकङ, जापान, युके, युएई, कतार, मलेसिया, साउदी अबर, ओमन, इजरायल, भारतलगायत देशसँगै नेपालभित्रका ५० बढी जिल्लामा पुगिसक्नुभएको छ ।