एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनु पर्दैन: अध्यक्ष केपी ओली।

काठमाडौं:= नेकपा (एमाले) सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभएको हो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रतासाथ अघि बढाउने आश्वासनसमेत दिनुभयो । अध्यक्ष ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायत पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको पनि दोहो¥याउनुभयो ।

उहाँले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरू कसैले फुस्काइदिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताउनुभयो । उहाँले अघिल्लोपटक नेपाललाई भूजडित देशको रूपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दाबीसमेत गर्नुभयो ।

भद्राकुमारी घलेलाई उहाँकै निवासमा भेट 

एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई भेट्नुभएको छ । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले शनिबार भेट गर्नुभएको हो । भेटका क्रममा घलेले आफूले लेखेका विभिन्न पुस्तक ओलीलाई हस्तान्तरण गर्नुभएको थियो । पत्नी राधिकासहित ओली आफ्नो घरमा आउँदा पूर्व-राज्यमन्त्रीसमेत रहेकी भद्रा घले निकै खुसी देखिनुहुन्थ्यो ।

पञ्चायतकालमा सिन्धुलीबाट पाँचपटक राष्ट्रिय पञ्चायत सदस्य (हालको सांसद) निर्वाचित हुनुभएकी घले राजपरिषद् स्थायी समितिको सदस्यसमेत हुनुहुन्थ्यो । पछिल्लो समय कुनै राजनीतिक दलमा नरहनुभएकी उहाँ केपी ओलीको पक्षमा अभिव्यक्ति दिएर चर्चामा आइरहनु भएको छ । घलेले ओलीसँग भेट्न धेरै पहिलदेखि चाहेकाले शनिबार समय मिलाएर ज्येष्ठ राजनीतिज्ञको सम्मानका लागि भेट गरिएको ओलीको सचिवालयले जनाएको छ ।