विवेकशील साझा, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता।

संघीयता खारेजी मुख्य एजेण्ड, धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह

काठमाडौं:= विवेकशील साझा, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेका छन् । ललितपुरमा एक कार्यक्रमबीच यी तीन पार्टीले एकताको घोषणा गरेका हुन्। घोषणापछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।

अध्यक्षमा रवीन्द्र मिश्र रहने सहमति भएको पार्टीले एकतापछि पार्टीको लोगो र चुनाव चिह्न तराजु नै राख्नेछ । साझा पार्टीको केन्द्रीय समिति सदस्यलाई निरन्तरता दिँदै सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कुल ४५ जना नयाँ सदस्यहरू सामेल गराइएको छ ।

त्यसैगरी, केन्द्रीय कार्यसम्पादन समितिमा पनि फोरम र दरबार पार्टीका १० जना सदस्यहरू थपिएको घोषणा पत्रमार्फत जानकारी दिइएको छ । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने उल्लेख छ । एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने जनाइएको छ ।

एकीकृत पार्टीले संघीयता खारेजीलाई आफ्नो मुख्य एजेण्डाका रूपमा अघिसार्ने बताएको छ । स्थानीय तहको पुनःसंरचना गर्दै संघीयता खारेजी नै सो पार्टीको मुख्य एजेण्ड रहने उल्लेख छ ।यस्तै, धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह गर्ने, सरकारी वेतनधारीहरूको युनियन खारेजीको एजेण्डा पनि विवेकशीलले अगाडि सारेको छ ।

त्यसैगरी, निःशुल्क र गुणस्तरीय सर्वाजनिक शिक्षा, निःशुल्क र गुणस्तरीय स्वास्थ्य र सामाजिक सुरक्षा पनि आफ्नो प्रमुख एजेण्डा रहेको सो पार्टीले जनाएको छ । त्यसैगरी, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा अर्थतन्त्रको उद्वेलन र रोजगारी सृजनालाई विशेष जोड दिने विवेकशीलले जनाएको छ ।