मलेसियामा मृगौला पीडित दर्जिलाई नेपाली दूतावास र एनआरएनएद्वारा उद्धार।

क्वालालम्पुर (मलेसिया):= मलेसिया स्थित नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सहयोग,समन्वयमा मृगौला पीडित नेपाली श्रमिक अमर बहादुर दर्जीको उद्दार गरि स्वदेश फर्काइएको छ।

नेपाल ठेगाना अर्घाखाँची जिल्ला, सितगंगा गाउपालिका वडा नं.१२ निवासी अमर बहादुर दर्जी वैदेशिक रोजगारीका लागि ८ बर्ष अघी रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएका थिए।

ट्यालेन्ट इनटरनेशल प्राइभेट लिमिटेड मार्फत लेजर रिसोर्स एसडिएन. बिएचडीमा मलेसियामा आएका दर्जिको मृगौला फेल भइ काम गर्न नसक्ने अवस्थामा पुगेका थिए। मलेसिया आउनुपूर्व म्यानपावर कम्पनी र रोजगारदाताले गरेको सम्झौता अनुसार काम र तलब सुविधा नभएपछि बाध्य भएर अबैद्यानिक भइ मलेसियाको केडाह (लङकावी) भन्ने स्थानमा काम गर्दै आईरहेका थिए ।

गत बर्ष देखि शुरु भएको कोभिड-१९ को महामारीसंगै दर्जी लाई पेट दुख्ने समस्याले सताउन शुरु गर्यो । हाल काम गरीरहेको रोजगारदाताले स्थानीय अस्पतालमा सामान्य चेक जाँच गर्दा मृगौलामा पत्थरी भएको देखिएको थियो।

एक महिनासम्म अस्पताल भर्ना भई उपचार गर्दा रोग निको नभएपछी थप उपचारका लागी नेपाल फर्कन आर्थिक अभाव भएपछि सहयोग,सहायताको लागी नेपाली राजदूतावास मलेसिया र गैर आवासीय नेपाली संघ मलेसियालाई संयूक्त रुपमा निवेदन दिएका थिए।

दर्जीको निबेदनको आधारमा नेपाली राजदूतावासले केडाह (लङकावी) देखि क्वालालम्पुर सम्म आउन यात्रा अनुमति पत्र र नेपाल र्फकनका लागि निःशुल्क ट्राभल डकुमेन्ट दूतावासले उपलब्ध गराएको थियो ।

त्यस्तै गैर आवासीय नेपाली संघ, मलेसियाले दर्जीलाई नेपाल फर्कनलाई हवाई टिकट, मलेशिया अध्यागमनको जरिवाना बापत्तको रकम, कोभिड-१९ परिक्षण (पिसिआर) परिक्षणमा लागेको शुल्क लगायत लागत खर्च ब्यहोरेर सहयोग गरेको नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले मलाया खबरलाई जानकारी दिनु भएको हो।