‘सिटी स्लम्स’ गायिका र्‍यापर राजा कुमारी नेपालमा।

काठमाडौं:= इण्डियन-अमेरिकन र्‍यापर द राजा कुमारी काठमाडौं आउनुभएको छ । आज साँझ ठमेलस्थित क्लब फरेनहाइटमा आयोेजना हुन लागेको कन्सर्टका लागि उहाँ शुक्रबार दिउँसो १ बजे नेपाल आइपुग्नुभएको हो ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजा कुमारीले नेपाल आउँदा खुशी लागेको बताउनुभयो । उहाँले अमेरिकामा विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसक्नुभएको छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘म नेपाली दर्शकमाझ मेरो नयाँ एल्बमको गीत सुनाउनेछु ।’

राजा कुमारीले आफू सन् २०१७ मा पनि नेपाल घुम्नका लागि आएको सुनाउनुभयो । ‘मलाई पशुपतिनाथ मन्दिर, नेपालीहरूको इनर्जी, शान्त वातावरण खुबै मन पर्छ,’ उहाँले भन्नुभयो, ‘यहाँका विभिन्न परिकार पनि चाख्ने मन छ ।’ विमानस्थलमा उहाँले नेपालीमा भन्नुभयो, ‘नमस्ते नेपाल, म राजा कुमारी । सन्चै हुनुहुन्छ ।’ राजा कुमारीले गाएको ‘सिटी स्लम्स’, ‘एन.आर.आई’ लगायतका गीत चर्चित छन् ।