नेपाली कांग्रेस १४औं महाधिवेशन : ५२ जिल्लाको परिणाम आउँदा देउवा र पौडल पक्ष बराबरी हैसियतमा।

काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउनेक्रम जारी रहेको छ । कांग्रेसले मंसिर १० भित्र सबै जिल्लाको अधिवेशन सक्ने भने पनि विविध कारणले केही जिल्लाका अधिवेशन हुन सकेको थिएन । अझै पनि तराईका आठ जिल्लासहित २५ जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

पछिल्लो समयसम्म ५२ जिल्लाको परिणाम आएको छ । जसमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जित्नुभएको छ । दुईजना भने कतै खुलेका छैनन् । झापाका सभापति देउमान थेवे र जाजरकोटका सभापति बेदराज सिंह कतै खुल्नुभएको छैन ।

सभापति देउवा पक्षले जितेका जिल्ला सभापतिहरूमा ऐनबहादुर शाही मुगु, रुपनारायण जवेगु पाँचथर, शंकर गुरुङ मनाङ, मोहनविक्रम सिंह हुम्ला, खड्क बोहरा बझाङ, टकराज गुरुङ लमजुङ, केशवबहादुर विष्ट सल्यान, दीपेन्द्रबहादुर शाही डोल्पा, भीमबहादुर साउद डडेल्धुरा, खमबहादुर गर्बुजा म्याग्दी, गजेन्द्रप्रसाद तुम्याहाङ ताप्लेजुङ, पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछाप, कर्णबहादुर शाही जुम्ला, प्रेमप्रकाश वली रुकुम पश्चिम, तेजेन्द्र खनाल ओखलढुंगा, युवराज जोशी पर्वत, जितेन्द्रकुमार श्रेष्ठ ललितपुर, पदम बोगटी कञ्चनपुर, नरेन्द्रबहादुर सिंह डोटी, डम्बरबहादुर खड्का इलाम, खड्ग पोखरेल सुर्खेत, रामकृष्ण खाँण रुपन्देही, किशोरदत्त बराल कास्की, तीर्थ लामा काभ्रे, र जितप्रकाश आले तनहुँ, हनुहुन्छ ।

वरिष्ठ नेता पौडेल पक्षले जितेका जिल्ला र सभापतिहरूमा बर्मा लामा दोलखा, नन्दप्रसाद न्यौपाने गोरखा, किशोर आचार्य रोल्पा, चतुरबहादुर चन्द बैतडी, विष्णुकुमार गिरी प्युठान, केशव श्रेष्ठ अर्घाखाँची, अम्बबहादुर शाही कालिकोट, दीपक खड्का संखुवासभा, केशरमान रोका रुकुमपूर्व, रोमीगौचन थकाली मुस्ताङ, विनोद वान्तवा भोजपुर, रामसिंह रावल बाजुरा, अर्जुन तुम्बाहाम्फे तेह्रथुम, अर्जुनकुमार पोखरेल नवलपरासी पश्चिम, हिमालदत्त श्रेष्ठ पाल्पा, रामनाथ अधिकारी धादिङ, केदार भण्डारी सुनसरी, राजु थापा स्याङ्जा, विष्णुकुमार राई खोटाङ, ललितसिंह बोहरा दार्चुला, रमेश महत नुवाकोट, कृष्णसबुज बानियाँ काठमाडौं, शंकरप्रसाद डाँगी दाङ, मणिराम रेग्मी दैलेख र खिलध्वज पन्थी गुल्मी रहनुभएको छ ।

निर्वाचन समितिद्वारा डडेल्धुराको निर्वाचन प्रक्रियालाई वैधता

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानबिन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो ।

बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखित रूपमा फरक मत राख्नुभएको छ । उहाँले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेल्धुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय लेख्नुभएको हो । जिल्लामा पुनः निर्वाचनको माग गर्दै केन्द्रीय कार्यालयमा अनशन चलिरहेको छ ।

यता, कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्लले केन्द्रीय निर्वाचन समितिले आफ्नो विवेक बन्धकमा राखेर सभापति शेरबहादुर देउवाको ठाडो निर्देशन मानेको टिप्पणी गर्नुभएको छ । ‘पार्टी सभापति, मुलुकको प्रधानमन्त्रीको जिल्ला हो । जसले अवैध अधिवेशनलाई वैध भनेर लेख्नुभएको छ । उहाँहरूले विवेक बन्धक राखेक सभापतिको ठाडो आदेश मान्नुभयो’,उहाँले भन्नुभएको छ । मल्लले यसका खिलाफमा सत्याग्रहभन्दा अर्को उपयुक्त बाटो नभएको जिकिर गर्नुभएको छ ।

दुई दिनपछि सर्‍यो कांग्रेस प्रदेश अधिवेशन

नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिनपछि सरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार यही मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेको लागि सारिएको हो । यसैगरी मंसिर २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मतगणना २७ गते सुरु हुने उहाँले जानकारी गराउनुभयो । यसअघि कांग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।

वडा अधिवेशनमा झडप

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर-४ को बलरामा झडप भएको हो । झडपमा बलरा नगरपालिका-८ को वडा अधिवेशन गराउन पुग्नुभएका मतदान अधिकृत उमेशचन्द्र झासहित पाँचजना घाइते हुनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले वडा अधिवेशनका क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको बताउनुभयो । झडपमा मतदान अधिकृत झासहित तीन प्रहरी र एकजना सर्वसाधारण घाइते भएको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार झाको टाउकोमा चोट लागेको छ । एकजना इन्स्पेक्टरको हात भाँचिएको छ ।

सर्लाहीमा संस्थापनइतरका अमरेशकुमार सिंहका समर्थक र संस्थापन पक्षबीच पटक-पटक विवाद हुँदै आएको छ । आइतबार पनि गोली चलेपछि स्थगित गरिएको अधिवेशनमा सोमबार पनि झडप भएको हो । वडा अधिवेशनका क्रममा आइतबार प्रदेश-२ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई धकेलाधकेल गर्न थालेपछि उहाँका अंगरक्षक (पिएसओ)ले हवाई फायर गरेका थिए ।

मन्त्री सिंहले डा. अमरेशकुमार सिंहनिकटका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । सर्लाहीको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिका सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।

सर्लाहीमा संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापनइतर पक्षका पूर्व-जिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले १४औं महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डेको उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको चौधौँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य पाण्डेले पार्टीको चौधौँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताउनुभयो । केन्द्रीय सदस्य पाण्डेले विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको उहाँले जिकिर गर्नुभयो ।