एमालेको चितवनको तमासाले मेरो विद्रोहको पुष्टि गर्दछ: माधव नेपाल।

काठमाडौं:= नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले विद्रोह गर्नुपरेको कारण चितवनको तमासाले पुष्टि गरेको बताउनुभएको छ ।

सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमालेभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको टिप्पणी गर्नुहुँदै यस्तो बताउनुभएको हो । नेपालले नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको आरोप लगाउनुभयो ।

एमालेले कुनै पनि जनवादी अधिकार नदिने र विचारको बहस नचलाउने प्रवृत्तिले नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट भएको भन्दै एमाले अधोगतितर्फ गइसकेको उहाँको दाबी थियो ।

एमालेलाई विदेशीका दलालले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको प्रशंसा गर्नु शोभनीय नभएको बताउनुभयो । उहाँले राम्रो विचारधाराको पार्टीले राम्रोकै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने जिकिर गर्नुभयो ।

नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर पाँच दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरूबाट मुक्ति दिलाउने दाबी गर्नुभयो । क्रान्तिबाट प्राप्त उपलब्धिको जगेर्ना गर्न र त्यसप्रति अत्यन्त सजग भएको बताउँदै अध्यक्ष नेपालले देशलाई प्रगतिको दिशामा अघि बढाउन नेकपा एकीकृत समाजवादी लागि पर्ने जिकिर गर्नुभयो ।