ओलीद्वारा बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्तावित सूची पेश, बन्दसत्रबाट अनुमोदन।

चितवन:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पेस गर्नुभएको छ । आइतबार मध्यरातमा सुरु भएको बन्द सत्रमा ओलीले ३०१ जना प्रस्तावित केन्द्रय सदस्यहरुको नाम पढेर सुनाउनुभएको हो ।

ओलीले केन्द्रीय सदस्यहरुको नाम सुनाएपछि अधिकांश महाधिवेशनप्रतिनिधिहरूले समर्थनमा तालीबजाएर अनुमोदन गरेका छन् । आफूले प्रस्ताव गरेको नामावलीमा असहमत हुनेलाई प्रक्रिया (निर्वाचन)मा जान ओलीले सुझाव दिनुभएको छ । ओलीले केन्द्रीय कमिटीमा नअटाएका (छुटेका)हरुलाई अन्त व्यवस्थापन गरिने पनि आश्वासन दिनुभएको छ ।

ओलीले आफूनिकट केही नेताहरुसँग आइतवार दिनभर पार्क सफारी होटलमा बसेर यो सूचीतयार गर्नुभएको हो । ओलीले वाचन गरेको नामावलीमा केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वालाकुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, गोविन्द नेपालीलगायतको नाम रहेको छ ।

त्यस्तै राजकुमार लेखी, मायानाथ अधिकारी, जगत बिक, सीमा क्षेत्री, लिला गिरी, दिनेश पन्थी, भूमिश्वर ढकाल, धर्मराज रेग्मी, नगेन्द ्रशाही, नारदमूनी राना, कमला ओली, कमला बोहरालगायत छन् । केन्द्रीय कमिटीमा केन्द्रीय समितिका यस अघिका अधिकांश अनुहार समेटिएका छन् ।

होटल सफारीको बन्दकोठामा तयार नामावलीलाई नै हलले अनुमोदन गरेको हो । बन्दसत्रले ओलीलाई नामावलीलाई ध्वनिमतले स्वीकार गर्दै पारित गरेको हो । ओलीले पदाधिकारीमा भने अझै सहमति हुनबाँकी रहेको बताउनुभएको छ । उहाँले पदाधिकारीको नाम अझै सहमति कायम गरेर सुनाइने  बन्दसत्रमा सहभागीलाई बताउनुभएको छ ।

पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवसहितका पदमा ओलीले आफ्नै समूहका नेतालाई मिलाउन सक्नुभएको छैन । ओलीमाथि पूर्व माओवादी, माधव नेपाललाई छाडेर आएका १० भाइ र आफ्नै समूह मिलाएर लैजानुपर्ने बाध्यता छ ।

सर्वसम्मति नभएपछि निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले रातिको समयमा उम्मेदवारी दर्ता लगायतका काम नगर्ने भनेर स्थगित गरिएको बताउनुभयो । ‘यो काम राति नगरौं भन्ने भयो । अहिले निर्वाचनका सबै प्रक्रिया स्थगित गरिएको छ । सोमबार बिहान ९ बजेदेखि सुरु हुन्छ,’ सुब्बाले भन्नुभयो ।

यसअघि राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । निर्वाचन आयोजका अध्यक्ष डा. विजय सुब्बाले  दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ९ बजेबाट अघि बढ्नेछन् । मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनय नप्रक्रिया शुरु भएको थियो।

राति महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र उम्मेदवारी फारम वितरणमा प्राविधिक समस्या भएपछि अहिलेकै अवस्थामा स्थगित भएको सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयोे– ‘फारम वितरण भइरहेको थियो । तर, अध्यक्ष मण्डलको निर्णय अनुसार अब निर्वाचन प्रक्रियाका बाँकी सबै कार्यहरु सोमवार विहान ९ बजेपछि शुरु हुनेछन् ।’

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने, उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने तयारी गर्नुभएको थियो । कतिपय प्रतिनिधिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनकालागि फारामसमेत लिइसकेको अवस्थामा निर्वाचनकार्यक्रम स्थगित गरिएको हो ।