नेपाली कांग्रेसको १४औँ महाधिवेशन : ४५ जिल्लाको परिणाम आउँदा देउवा पक्ष अगाडि।

काठमाडौं:= नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो समयसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जित्न सफल भएको छ । पूर्व–महामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मतरूपमा सभापति बनेका दुई जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

शेरबहादुर देउवा पक्षमा शंकर गुरुङ मनाङ, खड्क बोहरा बझाङट, गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, मोहनविक्रम सिंह हुम्ला, कान्छाराम तामाङ रामेछाप, ऐनबहादुर शाही मुगु, खमबीर गर्बुजा म्याग्दी, केशबहादुर विष्ट, सल्यान र रुपनारायण जबेगु पाँचथर रहनुभएको छ । यस्तै नरेन्द्रबहादुर सिंह डोटी, दीपेन्द्रबहादुर शाही डोल्पा, कर्णबहादुर शाही जुम्ला, तेजेन्द्र खनाल ओखलढुंगा, डा. टकराज गुरुङ लमजुङ, भीमबहादुर साउद डडेल्धुरा, रामकृष्ण खाँण रुपन्देही, युवराज जोशी पर्वत, डम्बर खड्का इलाम, किशोरदत्त बराल कास्की, तीर्थ लामा काभ्रे, जितेन्द्र श्रेष्ठ ललितपुर र पदम बोगटी कञ्चनपुर रहनुभएको छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रोमी गौचन थकाली मुस्ताङ, केशरमान रोका रुकुमपूर्व, दीपक खड्का संखुवासभा, नन्दप्रसाद न्यौपाने गोरखा, विष्णु राई खोटाङ, हिमालदत्त श्रेष्ठ पाल्पा, राजु थापा स्याङ्जा, किशोर आचार्य रोल्पा, विष्णुकुमार गिरी प्यूठान, अर्जुनबहादुर तुम्बाहाम्फे तेह्रथुम, विनोद बान्तवा भोजपुर, केशव श्रेष्ठ अर्घाखाँची, चतुरबहादुर चन्द बैतडी, बर्मा लामा दोलखा, अम्मबहादुर शाही कालीकोट, रामसिंह रावल बाजुरा, अर्जुनकुमार पोखरेल नवलपरासी (पश्चिम), मणिराम रेग्मी दैलेख, शंकरप्रसाद डाँगी दाङ र रमेश महत नुवाकोट रहनुभएको छ । यस्तै, कृष्ण सिटौला पक्षमा देउमान थेवे झापा रहनुभएको छ भने पक्षधरता नखुलाएकामा प्रेमप्रकाश ओली रुकुम पश्चिम र वेदराज सिंह जाजरकोट रहनुभएको छ ।

निर्वाचन समिति संयोजक यादवद्वारा राजीनामा

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार स्वीकृत गर्नुभएको हो । यादवले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको भएपनि समग्र निर्वाचन प्रक्रियामा उहाँले असन्तुष्टी जनाउँदै राजीनामा दिएको स्रोतको दावी छ । पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुंग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएको स्रोतले बताउँछ ।

रिक्त निर्वाचन समितिको संयोजक पदमा सोही समितिका वरिष्ठ सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई सभापति देउवाले नियुक्त गर्नुभएको छ । नेताहरूको अनावश्यक दबाबका कारणले यसअघि राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको थियो । अधिकारीको ठाउँमा आउनुभएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा दिनुभएको हो ।

वडा अधिवेशनमा गोली चल्यो

पटक–पटकको विवादपछि सर्लाहीमा आइतबारबाट नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका २० वटा पालिकाका २०० वटा वडामध्ये आइतबार धेरैजसो वडाहरूमा सहमतिमै समिति चयन भएका छन् । सहमति नभएका ठाउँमा (आज) सोमबार मतदानबाट टुंग्याइने जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताउनुभयो ।

यसैबीच, जिल्लाको बलरा नगरपालिका-९, अचलगढमा कांग्रेसको वडा अधिवेशनस्थलमा पार्टीकै दुई समूहबीच विवाद भएपछि गोली चलेको छ । आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा कांग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह त्यहाँ पुग्नुभएको थियो ।

सोही बेला कांग्रेस नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहका कार्यकर्ताबीच हात हालाहाल भएपछि मन्त्री सिंहका अंगरक्षकले एक राउण्ड हवाई फायर गर्नुभएको हो । विवादका क्रममा आफ्ना अंगरक्षक (पिएसो) प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाइते हुनुभएको मन्त्री सिंहले जानकारी दिनुभयो ।

घाइते दुवैजनाको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । मन्त्री सिंहले डा. अमरेशकुमार सिंहनिकटका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । विवादपछि अचलगढमा आइतबारका लागि कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।

यस्तै, बलराकै वडा नं. ५ अर्नाहा र वडा नं. ११ छतौनामा पनि विवादकै कारण वडा अविधेशन स्थगित गरिएको छ । वडा नं. २, ३, ४, ६ र ७ मा भने सहमतिमा नेतृत्व चयन भएको छ । ११ वटा वडा रहेको बलरा नगरपालिकाका बाँकी वडाहरूमा आज मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने बताइएको छ । सर्लाहीको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिका सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।

सर्लाहीमा संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापनइतर पक्षका पूर्व–जिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले १४आँै महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

निर्वाचन प्रक्रिया २१ गतेदेखि 

कांग्रेसले पार्टीको महाधिवेशन सुरु हुनुअघि नै निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ । २४ मंसिरमा महाधिवेशनको औपचारिक उद्घाटन हुने कार्यक्रम भए पनि निर्वाचनको प्रक्रिया भने २१ गतेबाट नै सुरु हुने भएको हो ।

त्यसअघि सबै जिल्लाको क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्नेछ । भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्नेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ ।

२२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । तर, निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन । यसको टुंगो मंसिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसमा नेतृत्व फेरिनुपर्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको नेतृत्व फेरिनुपर्ने बताउनुभएको छ । उहाँले वर्तमान नेतृत्वले १६५ प्रतिनिधिसभा सिटमध्ये २३ सिटमा सीमित गरेकाले नेतृत्व फेर्नुपर्ने बताउनुभएको हो । आइतवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।

‘झण्डै दुईतिहाइ मत हामीले प्राप्त गर्नुपर्ने हो, १६५ मा २३ सिटमा झर्ने ¤ यस्तो नेतालाई हामीले फेरि राख्यो भने के होला ? नेतृत्वको परिवर्तन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘अब स्थानीय निर्वाचन आउँदैछ, प्रान्तीय निर्वाचन आउँदैछ । संघीय निर्वाचन आउँदैछ । जसको नेतृत्वमा कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी गरेको संविधानलाई संस्थागत गर्न मत माग्न जाँदा भोट हामीलाई आउनुपर्ने मत नआएको कारणले गर्दा नेतृत्वमा कमजोर छ भन्ने कुरा प्रमाणित हुन्छ । नेतृत्व परिवर्तनमा साथ छ कि छैन भन्ने कुरा काठमाडौं जिल्लाको अधिवेशनको मत परिणामबाट थाहा हुन्छ । बेथितिबाट पार्टीलाई विधि, नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ ।’

नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानो नेतृत्वलाई हटाउनुपर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । उहाँले विधि र नियमअनुसार पार्टी नचल्दा कांग्रेसको छवि बिग्रँदै गएको पनि टिप्पणी गर्नुभयो । उहाँले दुई महिनाभित्र विभागहरू गठन गर्नुपर्ने पार्टीको विधान भए पनि पाँच वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको आरोप लगाउनुभयो ।

एमालेमा जनवाद सकियो, ओलीको डनवाद सुरु भयो : थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपा एमालेमा विधिवत रूपमा जनवाद सकिएको टिप्पणी गर्नुभएको छ । आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले एमालेमा अब ओलीको डनवाद सुरु भएको बताउनुभयो । ‘विधिवत रूपमा हिजोदेखि एमालेमा जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ’ उहाँले भन्नुभयो । चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रलाई थापाले ओली शेसनको संज्ञा दिनुभयो ।

एमालेको १०औँ महाधिवेशनको शनिबार भएको बन्दसत्रले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली टुंगो लगाउने जिम्मा ओलीलाई दिएको थियो । सोही विषयलाई लक्षित गर्दै कांग्रेस नेता थापाले ओलीमा आन्तरिक लोकतन्त्र सकिएको र ओलीको डनवाद सुरु भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो । नेता थापाले तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्शपुरुष हुन सेन रहेको आरोप लगाउनुभयो । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताउनुभयो ।

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताउनुभयो । उहाँले १०औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाउनुभयो । नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने जिकिर गर्नुभयो ।

कांग्रेस रूपान्तरणका लागि पौडेलको १० प्रस्ताव

‘पार्टीभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा छ’ 

१४औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको रूपान्तरणका लागि १० वटा सूत्र प्रस्ताव गर्नुभएको छ । पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले रूपान्तरणका लागि १० सूत्र अघि सार्नुभएको हो । आइतबार ‘कांग्रेसको अबको बाटो, रूपान्तरणको १० सूत्र’ शीर्षकमा दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले आफूले लोकतन्त्र र समाजवादको पक्षमा जीवनभर वकालत गरेको, तर अहिले भने पार्टीभित्रै लोकतन्त्रमाथि चुनौती पैदा भएको उल्लेख गर्नुभएको छ । उहाँले पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरूको मुख्य मुद्दा हुने बताउनुभयो ।

नेता पौडेलले दुई-चार दिनभित्रै साझा उम्मेदवारबारे निर्णयमा पुग्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘दुई÷चार दिनभित्र केही न केही निर्णयमा पुग्छौँ, अहिले पनि हामी सल्लाह र परामर्शमा छौँ ।’ उहाँले पार्टी महाधिवेशनमा नेतृत्व चयनको मात्र विषय नभई विचार र नीतिबारे बहस गर्नुपर्ने बताउनुभयो । नेता पौडेलले फुटबाट पार्टीमा परिवर्तन नहुने पनि प्रष्ट पार्नुभयो । क्रियाशील सदस्यता वितरणदेखि नै छलछाम हुँदा पार्टीमा आन्तरिक लोकतन्त्रमा जोखिम उत्पन्न भएको उहाँको भनाइ छ । उहाँले यस्ता हस्तक्षेपकारी प्रवृत्तिले लोकतन्त्रमा खतरा उत्पन्न भएको र आफ्नो एकमात्र लडाइँ लोकतन्त्रको रक्षा रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको नेतृत्वले आफ्नो पक्षले हार्छ भनेर नेपाल दलित संघ, जनजाति संघ, किसान संघ, नेपाल विद्यार्थी संघ लगायतका भ्रातृसंस्थाको अधिवेशन नै गराउन चाहेन । पार्टीको महाधिवेशन नै यत्रो महामारीतिर धकेलियो । मेरो एउटै मात्र उद्देश्य गुटविहीन पार्टी हो । म पार्टीका सबै निकाय, अंक, अवयवहरूका चुनाव समयमा गराउन प्रतिबद्ध छु । तिनीहरूलाई चलायमान गराउने कुरामा प्रतिबद्ध छु । पार्टीमा नयाँ जीवन, नयाँ शक्ति, नयाँ उर्जा भर्ने काम गर्नु आवश्यक छ । मलाई मेरो गुट हार्ला कि भन्ने डर छैन । म गुटको आधारमा हैन विचारको आधारमा राजनीतिमा बाँच्न चाहान्छु ।’

नेता पौडेलले सर्वोच्च अदालतको विवादबारे पनि सबै स्पष्ट हुनुपर्ने बताउनुभयो । अदालतमा सेटिङ हुनु लोकतन्त्रका लागि चुनौती भएको भन्दै उहाँले संवैधानिक परिषद्को निष्पक्षतामा प्रश्न उठ्नु पनि गम्भीर विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सत्ताका लागि मात्रै होइन व्यवस्थाका लागि चिन्ता गर्नुपर्ने अवस्था छ । अदालतमाथि आज प्रश्न उठेका छन् । दलहरूको लोकतान्त्रिकरणमा प्रश्न उठेको छ । हामी लोकतान्त्रिक हौँ भने कानुनको आत्मा कार्लमास्र्क भनेजस्तो सम्पत्ति नभएर न्याय हो भनेर हामीले प्रमाणित गर्नुपर्छ ।’ उहाँ भन्नुहुन्छ, ‘अदालतमा सेटिङको प्रश्न उठ्नु, संवैधानिक निकायको कार्यको निष्पक्षता स्थापित गर्नु र जनताको पक्षमा काम गरेर मात्र नेतृत्वमा आउने प्रणाली विकास गर्नुपर्छ ।’

महामन्त्री डा. शशांक कोइराला, पूर्व-सहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, नेताहरू दीलबहादुर घर्ती, कमला पन्त र प्रकाश स्नेहीलगायतको उपस्थितिमा नेता पौडेलले कांग्रेसको अबको बाटो (रूपान्तरणका १० सूत्र) सार्वजनिक गर्नुभएको हो । महाधिवेशनमा नीति र कार्यक्रमबारे छलफल नहुने अवस्था आएकाले छलफलका लागि आफूले १० बुँदे प्रस्ताव अघि सारेको पौडेलको भनाइ छ । महाधिवेशन आउन दुई साता पनि समय नरहँदा पौडेल पक्षले अझै पनि सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्न सकेको छैन । उहाँ आफैँसहित यो समूहमा अहिले प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालासहित सभापतिका दाबेदार हुनुहुन्छ । कांग्रेसले महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्ने र पछि विधान महाधिवेशन गर्ने जनाएको छ । कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यस्ता छन् पौडेलका १० सूत्र 

१. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔँ । समावेशी नेपाल साकार पारौँ ।

२. कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौँ ।

३. विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौँ ।

४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ, राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौँ ।

५. आर्थिक, समाजिक, सांस्कृतिक र राजनीतिक रूपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘¥याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

६. निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूललक्ष्य हो । राज्यको सम्पत्ति । स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन ।

७. विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो । सैद्धान्तिक स्पष्टता र आक्रामक प्रस्तुति तन्नेरी कांग्रेसको निश्चल चरित्र हुनुपर्छ । सकैका एजेण्डा बोक्न पर्दैन, आफ्ना एजेण्डा छोड्न पर्दैन ।

८. सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गरौँ ।

९. नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔँ ।

१०. कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔँ ।