विश्वकप क्रिकेट खेल्ने नेपाली महिला खेलाडीको सपना समाप्त।

काठमाडौं:= नेपाली महिला क्रिकेट टोलीको २०२३ मा हुने टी-२० विश्वकप खेल्ने सम्भावना सकिएको छ । एसिया क्षेत्र छनोटबाटै बाहिरिएपछि नेपालको सम्भावना सकिएको हो ।

एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार नेपालले युएईलाई जित्नैपर्ने अवस्थामा उल्टै ४८ रनले पराजित भएपछि नेपालको सम्भावना सकिएको हो । विजेता युएईले भने अपराजित रहँदै एसिया क्षेत्रबाट ग्लोबल छनोटमा स्थान बनायो।

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रनमा अल आउट भयो । नेपालकी ओपनर इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन, सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सक्नुभएन ।

त्यसबाहेक कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट हुनुभयो । युएईकी समायरा धरणीरकाले ४ ओभरमा ५ रन खर्चेर ४ तथा खुशी शर्मा र चमानी सेनेविरत्नेले २-२ विकेट लिनुभयो ।

त्यसअघि आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । उसकी चमानी सेनेवित्नेले ३६ बलमा ७ चौकासहित ५२ रन जोड्नुभयो ।

ओपनर थ्रीथा सतिसले ४६ बलमा ३ चौकासहित ४७ रन थप्नुभयो । दोस्रो विकेटका लागि थ्रीथा र ईशा इगोडागेले ५८ रनको साझेदारी गर्दै युएईको पारी अघि बढाउनुभएको थियो । काभिसा इगोडागे २७ बलमा १ चौकासहित २२ रनमा आउट हुनुभयो । नेपालका कविता कुँवरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिनुभयो भने सबनम राई, सीता रानामगर र संगीता राईले १-१ विकेट लिनुभएको थियो ।

यसअघि नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएई पाँच खेलमा १० अंकका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल पाँच खेलमा तीनमा जित र दुईमा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालसहित ६ राष्ट्रले युएईमा एसिया छनोट खेलेका थिए । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् ।

सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउने प्रावधान थियो । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टोली दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाली महिला टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहनुभएको छ ।