युएईको कानुन सुधार गरिँदै, बलात्कारीलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्म।

दुबई (युएई):= संयुक्त अरब इमिरेट्ले आफ्नो देशको कानुनी प्रणालीमा व्यापक सुधारको लागि स्वीकृति दिएको छ । यी सुधारको उद्देश्य सामाजिक स्थिरता र अधिकारको सुनिश्चितताका साथै अवसरहरूमा वृद्धि गर्नु भएको बताइएको छ ।

एक आधिकारिक घोषणाका अनुसार यो कानुनी सुधारअन्तर्गत ४० वटा फरक फरक कानुनमा सुधार गरिनेछ । यस हिसाबले संयुक्त अरब इमिरेट्समा भएको यो अहिलेसम्मकै ठूलो कानुनी सुधार हो । यो नयाँ कानुन ‘इयर अफ द ५०’को क्रममा आएको हो र यसको उद्देश्य युइएका विकासात्मक उपलब्धिहरूसँग तालमेल कायम गर्नु हो । साथमा भविष्यका योजनाहरूका लागि पनि आधार दिनु रहेको बताइएको छ ।

कानुनमा संशोधनको उद्देश्य लगानी, व्यापार र उद्योग, संरक्षण, प्रतिलिपि अधिकार, ट्रेडमार्क, ट्रष्ट सेवाहरू र निवाससहित विभिन्न क्षेत्रमा कानुनी संरचनालाई विकसित र स्थापित गर्नु हो । यसका अलावा सामाजिक स्तरमा सुधारका लागि यी कानुनहरूलाई महत्वपूर्ण मानिएको छ ।

यो सुधारअन्तर्गत सामाजिक र व्यक्तिगत सुरक्षा, अपराध र सजाय, अनलाइन सुरक्षा, नशालु पदार्थको उत्पादन, बिक्री र उपयोगलाई नियन्त्रित गर्न कानुन ल्याइएका छन् । नयाँ कानुनमा बलात्कारको सजायलाई कडा बनाइएको छ । नयाँ संघीय अपराध तथा सजाय कानुन अनुसार बलात्कार वा सहमति विना शारीरिक सम्बन्धका आरोपीलाई आजीवन कारावासको व्यवस्था गरिएको छ ।

यो नयाँ कानुन अनुसार यदि पीडितको उमेर १८ वर्षभन्दा कम छ वा पीडित विकलांग छन् भने आरोपीको सजायलाई बढाएर मृत्युदण्ड दिइन सक्छ । शेख खलीमा बिन जायद अल नाहयानले देशको कानुनी प्रणालीमा व्यापक सुधारलाई स्वीकृति दिनुभएको छ । कानुनमा संशोधन र नयाँ कानुन ल्याएर महिला र घरेलु कामदारको सुरक्षा अझै राम्रो बनाउने प्रयास गरिएको छ । यी कानुन २ जनवरी २०२२ देखि पूर्णरूपमा लागू गरिनेछन् ।