दमक:= नेपालमा पछिल्लो समय थुप्रै रियालिटी शोहरू सञ्चालनमा छन् । गायक, नृत्य तथा कमेडी क्षेत्रमा रियालिटी शोहरूले नेपाली दर्शकको साथ पाइरहेको बेला अमेरिका तथा क्यानडामा रहेका नेपालीहरूलाई लक्षित गर्दै अन्य दुई रियालिटी शो आउने भएको छ । केही समयअघि घोषणा भइसकेको ‘मेरो डान्स कप युएसए-४’ र मेरो भ्वाई कप युएसए-२’को दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा शनिबार उद्घाटन गरिएको छ ।
यो दुवै रियालिटी शोको अडिसन यही जनवरीबाट अमेरिकामा हुने छ । दुवै रियलिटी शोको फारम पनि खुला गरिएको सो कार्यक्रममा घोषणा गरियो । ‘मेरो डान्स कप युएसए-४’ र मेरो भ्वाई कप युएसए-२’को प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राई, इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी, अभिनेता दीलिप रायमाझी, अभिनेत्री केकी अधिकारी, गायक प्रमोख खरेल, नृत्य निर्देशक शंकर बिसी, नरमान राईलगायतले सामुहिक उद्घाटन गर्नुभयो ।
दुवै रियालिटी शोको उद्घाटन गर्दै प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले नेपाली भाषा संस्कृतिलाई जगेर्ना गर्दै अमेरिका र क्यानडामा रहेका नयाँ पुस्ताका नेपालीलाई आफ्नो भाषातर्फ आकर्षण गर्न आयोजना गरिएको यो दुईवटा कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो । नेपालीहरू जहाँ भए पनि आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उनले जोड दिनुभयो।
नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनको बारेमा आफूले केन्द्रीय सरकारसँग वार्ता गरेर परिणाम निकाल्नतर्फ लाग्ने मुख्यमन्त्री राईले वचन दिनुभएको थियो । सोही क्रममा मन्त्री राईले बेलडाँगी शिविरमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले खोजेका ज्येष्ठ नागरिक डे केयर सेन्टरको पनि उद्घाटन गर्नुभयो ।
शनिबारको सो उद्घाटन समारोहमा काठमाडौंबाट झापा पुगेका तीन दर्जनभन्दा बढी कलाकारले आफ्ना कला प्रस्तुत गर्नुभएको थियो । अग्रज गायक प्रेमराजा महतले बाँजो खेतमा र पानको पातजस्ता गीत प्रस्तुत गर्दा उहाँको गीतमा प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राई, अभिनेता अभिनेत्री, गायक गायिकालगायत अतिथि छमछमी नाचे । मुख्य मन्त्री नै नाचेपछि हुटिङ गर्दै दर्शकहरू झनै नाचे ।
आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीका अनुसार अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूले अमेरिका र क्यानडामा रहेका नयाँ पुस्तालाई नेपाली भाषा संस्कृतिप्रति आकर्षण गर्न नृत्य र गायनसम्बन्धी दुईवटा रियालिटी शो आयोजना गर्दै आएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले चार वर्षअघिबाट मेरो डान्स कप युएसए र दुई वर्षबाट मेरो भ्वाइस कप युएसए सञ्चालन गर्दै आएको पनि अधिकारीले बताउनुभयो । प्रतियोगितालाई विश्वव्यापी रुपमा फैल्याउँदै अमेरिका र क्यानडामा रहेको नेपाली तथा नेपाली भाषीहरूलाई सहभागी गराउन यसपटक नेपालमा यसको उद्घाटन कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष अधिकारीले कार्यक्रममा बताउनुभयो ।
शनिबार करिब १० घण्टा चलेको सांस्कृतिक कार्यक्रममा मेरो डान्स कप युएसएका निर्णायक दीलिप रायमाझी, शंकर बिसी, केकी अधिकारी र नरमान राईले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गर्नुभयो । नृत्य कलाकार दीपाशा बिसी, करिश्मा ढकाल, निक शर्मा, ऋचा थापाले पनि विभिन्न गीतमा कार्यक्रममा नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाउनुभएको थियो । । कलाकार सन्दीप क्षत्रीको प्रहसन पनि आकर्षक थियो ।
कार्यक्रममा प्रमोद खरेल, सिडी विजय अधिकारी, रचना रिमाल, रवि गहतराज, करणराज कार्की, सञ्जु मोक्तान, निशान भट्टराई, अरिफ शाह, अस्मिता अधिकारी, प्रवीण बेडवाल, नेहा उप्रेतीलगायतले आफ्ना चर्चित गीतहरू प्रस्तत गरेर दर्शकलाई नचाउनुभयो । कार्यक्रममा कीर्तिपुर ग्रुप, धरान ग्रुप, दमक ग्रुप, बेलडाँगी ग्रुप, पत्थी ग्रुपका कलाकारहरूले पनि विभिन्न लोक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमका रौनक बढाउनुभयो । यी कलाकारको नृत्य एवं गायन हेर्न हजारौंको संख्यामा दर्शक बेलडाँडी शिविरमा सहभागी हुनुभएको थियो ।




















