सौराहा (चितवन):= एमले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उप राष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।
शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन्। ओली बसेकाे हाेटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै छ। जसकारण बन्दसत्र अझै लम्बिने देखिएकाे छ । शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन ।
प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् । हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए । चितवनको सौराहमा बन्दशत्र शुरू हुन लागेको हो। बिहान १० बजे शुरू हुने भनिए पनि सवा ११ बजेसम्म शुरू भएको छैन । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अहिले केहीबेरमा बन्दशत्र शुरू हुने जानकारी दिए । बन्द शत्रको शुरूमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेका छन् ।




















