भीम रावल भन्छन्: ‘एक मत आएपनि चुनाव लड्छु’

काठमाडौं:= नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्। उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ। तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरू सँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।

यता एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहस्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ । १०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नारा बाजी गरेको हो ।

अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन् । एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहितामा भने कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ ।