एनआरएनएलाई डलर खाता खोल्न दिने तयारी।

काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली (एनआरएनए) लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उहाँले उक्त जानकारी गराउनुभएको हो ।

अर्थमन्त्री शर्माले सञ्चिति अवस्थालाई सन्तुलनमा राख्न एनआरएनएलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सञ्चिति अवस्था अलिकति सन्तुलन गर्नका लागि एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ, उनीहरूले यहाँ पैसा राख्न पाउने, व्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छलफल भइरहेको छ ।’

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उहाँको भनाइ छ । मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्णरूपमा डिजिटल कारोबार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ, अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्णरूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’ पूर्णरूपमा डिजिटल कारोबारमा जान आममानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने र त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री शर्माले राष्ट्र बैंकका कर्मचारीसँग बैंक डराउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने पनि बताउनुभयो । अझै पनि कर कार्यालयको अधिकृत भन्नेबित्तिकै करदाता डराउने, भन्सार अधिकृत भनेपछि आयातकर्ता यताउता हुने स्थिति रहेको उल्लेख गर्दै उहाँले सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । मंगलबार नै राष्ट्र बैंकको कामकारबाहीबारे संक्षिप्त जानकारी लिँदैै उहाँले हुन्डी कारोबार रोक्न सो व्यवस्था गर्नेबारे छलफल भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ ।’