ग्रानाडालाई हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा।

म्याड्रिड:= स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ग्रानाडालार्ई उसैको मैदानमा ४-१ गोलले हराउँदै रियलले शीर्ष स्थान कब्जा गरेको हो ।

१० खेलाडीमा समेटिएको ग्रानाडामाथि फराकिलो जित निकाल्न रियलका मार्काे असेन्सियो, नाचो फर्नान्डेज, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले गोल गर्नुभयो । ग्रानाडाका लुइस स्वारेजले सान्त्वना गोल फर्काउनुभयो ।

एकपक्षीय खेलमा रियलले १९औँ मिनेटमा खाता खोलेको थियो । मार्काे असेन्सियोले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोली रियलको उत्साह जगाउनुभयो । २५औँ मिनेटमा नाचोले टोनी क्रुसकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ३४औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । उहाँले म्याक्सिमे गोनालोन्सको पासमा गोल गर्नुभएको थियो । तर, ५६औँ मिनेटमा भिनिसियसले लुका मोड्रिचको पासमा गोल गर्दै रियलको अग्रता थप बलियो बनाउनुभयो ।

ग्रानाडा ६७औँ मिनेटमा १० खेलाडीमा समेटियो । रियलका भिनिसियसलाई फल हालेपछि मोन्चु सोझै रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । मोन्चुको कार्डलाई लिएर रेफ्रीविरुद्ध खनिएका ग्रानाडाका प्रशिक्षक रोवर्ट मोरेनोलाई पनि दुई मिनेटलगत्तै रेफ्रीले रातो कार्ड देखाउँदै टच लाइनबाहिर पठाउनुभयो ।

ग्रानाडाका खेलाडी र प्रशिक्षकले रातो कार्ड पाएपछि केहीबेर तनावपूर्ण बनेको खेलमा रियलले पुनः अर्को गोल थप्यो । ७६औँ मिनेटमा फर्लान्ड मेन्डीले क्यासेमिरोको पासमा गोल गर्दै रियललाई सानदार जित दिलाउनुभयो ।

६९ प्रतिशत बल पोसेसनमा राखेको रियलले २१ वटा पोस्ट प्रहार गरेको थियो । खेलभर रियलको दबाब झेलेको ग्रानाडाले ११ वटा पोस्ट प्रहार गरे पनि फराकिलो हार खेप्यो । रियलका टोनी क्रुस ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले दोस्रो स्थानमा रहेको रियल सोसिडाडलाई एक अंकले पछि पारेको छ । रियलको १३ खेलबाट ३० अंक छ । १४ खेल सकेको सोसिडाडको २९ अंक छ । घरेलु मैदानमा आइतबार राति नै भएको खेलमा भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएपछि सोसिडाडले शीर्ष स्थान गुमाएको हो ।

तेस्रो स्थानमा रहेको सेभियाले २८ अंक बनाएको छ । रियलसँग पराजित ग्रानाडा ११ अंकसहित १८औँ स्थानमा छ । अन्य खेलमा रियल बेटिसले इल्चेलाई ३-० र गेटाफेले काडिजलाई ४-० गोलले हराएको छ ।