एनसेललाई दुई अन्तर्राष्ट्रिय अवार्ड।

काठमाडौं:= एनसेल आजियाटा लिमिटेडले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम गरी दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । कम्पनी विट्सा ग्लोबल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ प्राप्त गरेको हो ।

कम्पनीले धुलिखेल अस्पतालसँगको सहकार्यमा उक्त दुई कार्यक्रम बनाएको थियो । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारे दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हस्तान्तरण गर्नुभएको थियो ।

विट्सा ग्लोबल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममा भएको थियो । एनसेलले उक्त अवार्ड मेरिट विनरका रूपमा ई-हेल्थ सोलुसन अवार्ड प्राइभेट सेक्टर/एनजिओ विधाअन्तर्गत प्राप्त गरेको हो ।

त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कंग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायलाई  घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो ।