काठमाडौं:= नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी अधिवेशनमा केन्द्रीय गुट/उपगुटको प्रभाव देखिन थालेको छ । केन्द्रमा नेताहरूले प्यानल घोषणा गरिनसकेको भए पनि अघोषित गुटको प्रभाव अधिवेशनमा देखिन थालेको हो । केन्द्रमा सभापतिका दर्जन हाराहारी आकांक्षी देखिए तापनि कसैले प्यानल घोषणा गरेका छैनन् । तर, अधिवेशनमा भने अघोषित प्यानलको प्रभाव देखिन थालेको हो ।
अहिले कांग्रेसमा संस्थापन पक्षधर, संस्थापनइतर र केही नेताका अघोषित प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । वर्तमान सभापति शेरबहादुर देउवानिकटका नेताहरू प्यानल मिलाएरै प्रतिस्पर्धा गरिरहेका छन् । संस्थापनमा देउवाबाहेक, उपसभापति विमलेन्द्र निधिको पनि अघोषित प्यानल छ । इतर समूहबाट नेता विशेषकै अघोषित प्यानल छन् । काठमाडौं उपत्यका आसपास नेता प्रकाशमान सिंह र गगन थापाको अघोषित प्यानल छन् । अधिकांश उहाँहरूकै प्यानलका उम्मेदवार विजयी भएका छन् । काठमाडौंमा सिंह-थापाबाहेक केही संस्थापक र गोपालमान श्रेष्ठ प्यानलका उम्मेदवारले पनि जितेका छन् ।
काठमाडौं उपत्यकाबाहिर इतर समूहका पनि फरक-फरक प्यानल छन् । शीर्ष नेताका गृहजिल्लैपिच्छे फरक-फरक प्यानल छन् । सभापति देउवाबाहेक नेता रामचन्द्र पौडेल, कोइराला परिवारनिकटमा अघोषित प्यानल छन् । हालसम्म प्राप्त मत परिणामअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन र महाधिवेशन प्रतिनिधिमा यिनै अघोषित प्यानलका उम्मेदवार विजयी भएका छन् । कतिपय केन्द्रमा प्रभाव राख्ने नेताहरूसमेत पराजित भएका छन् ।
यसरी पराजित हुनेमा कांग्रेस सांसद, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवर, संघीय सांसद मोहनप्रसाद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । त्यस्तै, पूर्व-महामन्त्री सरोज थापा, आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डेलगायत नेताहरू पराजित हुनुभएको छ ।
कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ (सोमबार)बाट सुरु भएको छ । यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।




















