काठमाडौं:= नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री पद त्यागेर वैचारिक एकता, जनताप्रतिको निष्ठा र स्थिरताका लागि एमालेसँग एकता गरेको भन्दै दाहालले अहिले पुरानै अवस्थामा आइपुगेको बताउनुभयो ।
‘देउवाले पाँच वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मान्नुभएन,’ उहाँले भन्नुभयो, ‘वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो । अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् भन्ने अवस्था आयो । देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो ।’
अध्यक्ष दाहालले आफूलाई छिटोभन्दा छिटो नेतृत्व छोड्न मन भएको समेत बताउनुभयो । नेतृत्व छाडेर आफ्नो अनुभव लेख्न मन लागेको उहाँले बताउनुभयो । ‘मलाई नेतृत्व छिटोभन्दा छिटो छोड्न मन छ । अहिलेसम्म गरेको अनुभवको संस्मरण लेख्ने मन छ,’ दाहालले भन्नुभयो, ‘छोडेर किताब लेखेर बस्न पाए ।
यसो हेर्छु दायाँबायाँ छाँटकाँट देख्दिनँ । बेला भएको छैन भन्ने लाग्छ । लिडरसिप कसैले रातारात चाहँदैमा हुने कुरा होइन । कसैले नचाहँदैमा नहुने कुरा पनि होइन । त्यो इतिहास र आन्दोलनले बनाउने हो । जनताले बनाउने कुरा हो । लामो संघर्ष र अनुभवबाट बन्ने कुरा हो ।’
अध्यक्ष दाहालले शिक्षकहरूले राजनीति गर्न हुँदैन भन्ने मान्यता गलत भएको पनि टिप्पणी गर्नुभएको छ । शिक्षकले राजनीति गर्न नपाएको खण्डमा पार्टी सिष्टम नै कमजोर हुने उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘शिक्षकले राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने कानुनी र संवैधानिक प्रश्न जस्तो बनाइएको छ ।
तर, नेपालमा जति पनि पार्टीहरू छन्, सबै शिक्षकहरूकै योगदानका कारण छन् । राजनीतिक दलका योजना र कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन् । त्यसैले शिक्षकले राजनीति गर्न हुन्न भन्नु पार्टी सिष्टम नै कमजोर पार्ने कुरा हो ।’
प्रचण्डले शिक्षकहरू अझै सक्रियतापूर्वक सामाजिक र राजनीतिक रूपान्तरणका काममा लाग्नुपर्नेमा जोड दिनुभयो । शिक्षकहरूलाई राज्यले सबैभन्दा बढी सेवा–सुविधा र सम्मान दिनुपर्ने भए तापनि नेपालमा ठिक उल्टो अवस्था रहेको उहाँले बताउनुभयो ।
राज्यले यसरी अन्याय गरेकाले नै शिक्षकहरू क्रान्तिकारी बनेको उहाँले तर्क छ । ‘राज्यले अन्याय गरेकाले नै शिक्षकहरू क्रान्तिकारी भएका हुन् । अमेरिकामा जस्तो शिक्षक भएको भए केको आन्दोलनकारी हुने ?’ दाहालको भनाइ छ ।




















