मिहिनेती मोडलको छवि बनाएकी सञ्चिता।

[ गोपिकृष्ण चापागाईं ] 

काठमाडौं:= नेपाली म्युजिक भिडियोको क्षेत्रमा दुई सय बढी भिडियोमा काम गरिसक्नुभएकी सञ्चिता शाहीलाई लागेको थिएन यतिका दर्शकको मनमा बस्न सक्छु भन्ने । आजभन्दा झण्डै पाँच वर्षअघि पहिलोपटक आधुनिक गीत ‘भिक्षा’बाट अभिनय यात्रा सुरु गर्नु भएकी सञ्चितालाई त्यो समयमा लागेको थिएनकी लाखौं दर्शकको माया पाउँछु ।

काम गर्दै गर्दा एकदिन सबै दर्शकको मनमा बस्छु भन्ने सपना बोकेर अगाडि बढेको शाही सुनाउनुहुन्छ । उहाँँ आज त्यो सपना पूरा भएको देख्दा खुशी हुनुहुन्छ । सानैदेखि चञ्चले सञ्चिता गीतसंगीत, भिडियो, नाँचगान भनेपछि हुरुक्कै हुनुहुन्थ्यो रे । दैलेखको काँसीकाँध-५ मा जन्मिनुभएकी शाही आफू आठ वर्षको उमेरदेखि गाउँघरमा हुने साना कार्यक्रममा नाँच्न पुग्नुहुन्थ्यो । सानैदेखि नयाँ कुरा सिकिहाल्नुपर्ने, जिज्ञासु स्वभाव भएकाले आज सञ्चिताको नेपाली म्युजिक भिडियोको क्षेत्रमा छुट्टै पहिचान छ । पछिल्लो समय संख्यात्मक हिसाबले धेरै बनाउन सञ्चिताले भिडियोमा काम गर्नेभन्दा पनि गुणस्तरीय भिडियोमा काम गर्ने गरेको बताउनुहुन्छ ।

‘अफर धेरै आउँछन् तर कतिपय निर्माण गर्ने टिमले लापरबाही गरेको पाइन्छ । केही भिडियोमा त्यस्तो गरेको पनि पाएकी छु । गीतको अडियो राम्रो हुँदाहुँदै भिडियो राम्रो भएन भने दर्शकको मनमा नबस्न सक्छ । त्यसैले आजभोलि भिडियो गर्न केही कम र गुणस्तरमा ध्यान दिन खोजेको हो’, शाही सञ्चारकर्मीसंग कुरा गर्दै भन्नुभयो, ‘त्यसो भनिरहँदा अधिकांश निर्माण कम्पनी भने भिडियो मेकिङमा धेरै मिहिनेत गर्नुहुन्छ ।’

सञ्चितालाई झण्डै पाँच वर्षअगाडि सार्वजनिक विष्णु माझी र मौसम गुरुङको स्वरमा रहेको ‘अन्धोपन’ बोलको गीतले दर्शकमाझ थप चिनाउन मद्धत ग¥यो । त्यसपछि उहाँँलाई भिडियोमा अफर आउन थाले र व्यस्तता निकै बढ्यो । त्यसपछि सञ्चितालाई पछाडि फर्केर कहिल्यै हेर्नुपरेन । ‘चेली, औंठी सुनैको, आमा, भयौ परदेशी, अन्तिम भेट’ बोलका गीतहरू हिट भए । त्यसपछि सञ्चिताको व्यस्तता झनै बढ्यो । आजसम्मको यात्रामा सञ्चिताले नेपाली कला क्षेत्रमा कहलिएका सबैजसो पुरुष मोडलसँग काम गरिसक्नुभएको छ । नेपाली म्युजिक भिडियो क्षेत्रका स्टारहरू पुष्प खड्का, शंकर बिसी, दुर्गेश थापालगायत मोडलहरूसँग सञ्चिताले अभिनय गरिसक्नुभएको छ । काम गर्ने क्रममा सञ्चिताको बोल्ने शैली, मिलनसार बानी, सहयोगी भावनाले धेरैले तारिफ गरेको पाइन्छ । प्रायः कलाकारहरू काम गर्दै जानेक्रममा विभिन्न विवादमा पर्छन् तर उहाँँ कुनै नकारात्मक विवादमा पर्नुभएको छैन ।

‘हाम्रो इन्डस्ट्रि कति नै ठूलो छर, मिलेर यही इन्डस्ट्रिलाई अन्तिर्राष्ट्रिय स्तरसम्म कसरी फैलाउने भनेर सोच्नुपर्छ कलाकार-कलाकारबीच मनमुटाव गर्ने, अर्काको प्रगतिमा इर्सा गर्ने बानी गरेको मन पर्दैन’, सञ्चिताले भन्नुभयो, ‘मलाई नयाँलाई सहयोग गरौं, ठूलाबाट सिकौं भन्नै लाग्छ ।’ सञ्चिताले अहिलेसम्म म्युजिक भिडियोको क्षेत्रमा कहलिएका निर्देशक सबैसँग काम गरिसक्नुभएको छ । शंकर बिसी, शिव विक, काजिस श्रेष्ठ, क्रान्ति केसीलगायत चर्चित भिडियो निर्देशकहरूले सञ्चितालाई एक्सन कट गरिसक्नुभएको छ ।

अन्य कलाकारभन्दा सञ्चिताको नेपाली म्युजिक भिडियोको क्षेत्रमा फरक पहिचान छ । अभिनयमा निखारता, मीठो बोली, मिलनसार बानीका कारण नेपाली म्युजिक भिडियोको क्षेत्रमा उहाँँको नाम अगाडि आउँछ । उहाँँलाई ‘डान्सिङ’भन्दा बढी ‘सेन्टिमेन्टल’ गीतमा बढी अफर आउने गर्छन् । सञ्चिताले भन्नुहुन्छ, ‘सुरुदेखि मैले काम गरेको भिडियोहरूमध्ये सेन्टिमेन्टल गीतहरूबाट रेस्पोन्स राम्रो आएकाले होला धेरैले सेन्टिमेन्टल गीतबाटै अफर गर्नुहुन्छ । दर्शकबाट सेन्टिमेन्टल गीतमै राम्रो रेस्पोन्स आउँछ ।’

वर्षभरी काम गरेको आधारमा विभिन्न संघसंस्थाले कामको मूल्यांकन गर्दै दिने अवार्डहरूमा सञ्चिताको नाम समय-समयमा आउँछ । एपिक नेपाल म्युजिक अवार्डमा सञ्चिताले सर्वोत्कृष्ट महिला मोडलको अवार्ड जित्नुभएको थियो । यस्तै पावर न्यूज म्युजिक अवार्ड, साधना म्युजिक अवार्ड र केही साताअघिमात्रै सम्पन्न स्टार इन्टरनेशनल अवार्ड प्राप्त गर्नुभयो ।

काम गर्दैजाने क्रममा नृत्यका लागि देशका विभिन्न जिल्लामा सञ्चिता पुगेको अनुभव छ । उहाँँले चलचित्रमा पनि अभिनय गर्नुभएको छ । ‘प्रेम’, ‘बाणी’ र ‘कैदी’ चलचित्रमा काम गर्नु भए पनि कोरोना कहरले यी चलचित्र प्रदर्शनमा आउन सकेका छैनन् ।