बाँकेमा धान खरिद अझै अनिश्चित।

[ शुभाकर विश्वकर्मा ] 

नेपालगञ्ज:= बाँकेमा किसानले उत्पादन गरेको धान खरिद अझै अनिश्चित बनेको छ । गत वर्ष यही समयमा धान खरिद गरेको भए पनि यसवर्ष कुनै सुरसार देखिँदैन । बिचौलियाहरूले धान खरिदको लागि तोकिएको समर्थन मूल्यभन्दा अत्यन्त कम मूल्यमा खरिद गरिरहेका छन् । यसवर्ष धान भित्र्याउने समयमा वर्षा भएपछि उत्पादनमा भारी गिरावट हुने अनुमान छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद अझै अनिश्चित भएको जनाएको छ । बाँके शाखा कार्यालयका प्रमुख रामबहादुर विष्टका अनुसार किसानको धान खरिद गर्न अझै एक साताभन्दा बढी लाग्ने सम्भावना छ ।

सरकारले तोकेको समर्थन मूल्यमा खरिद गर्न थप एक हप्ता लाग्ने भएको उहाँको भनाइ छ । सरकारको पूर्ण स्वामित्वमा रहेकोे खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रक्रियागत ढिलाइका कारण समस्या भइरहेको जनाएको छ ।

विभागबाट अझै पनि धान खरिद गर्न परिपत्र आइनसकेका कारण अझै एक हप्ता समय लाग्ने देखिएको उहाँले जानकारी दिनुभयो । एक हप्ताअघि किसानहरूले कम्पनीमै पुगेर धान खरिद गर्न दबाब दिएका थिए ।

उहाँले किसानले निरन्तर दबाब दिइरहेको तर अख्तियारी नआएका कारण अन्योलता सिर्जना भएको बताउनुभयो । ‘एक हप्तामा खरिद गर्ने मौखिक सहमति भएको छ । सहमति भएको एक हप्तापछि लिखित परिपत्र भएको छैन । अझै एक हप्ता समय किसानले पर्खन पर्ने देखिएको हो ।’ उहाँ भन्नुहुन्छ ।

जसले गर्दा किसानले बिक्रीका लागि राखेको धान जोगाउन मुस्किल परिरहेको छ । यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जले धान खरिदमा विशेष मापदण्डसमेत अपनाउने भएपछि धेरै किसानको धान खरिद नहुनेतर्फ आंशकासमेत बढेको छ ।

यो वर्ष सरकारले मोटा धानको दुई हजार ७५२ रुपैयाँ समर्थन मूल्य तोकेको छ भने मध्यम धानको २९ सय दुई रुपैयाँ तोकेको छ । समयमै मूल्य तोकिए पनि धान खरिद गर्न नसकेको कम्पनीका कारण किसानले दुःख बेहोर्नु परिरहेको छ ।

किसानलाई राहत पुगोस् भन्ने हेतुले सरकारले समर्थन मूल्य तोकिदिएको हो तर कम्पनीका ढिलासुस्तीले गर्दा आम सर्वसाधारणले बिनाकारण सास्ती बेहोर्नुपरेको खजुराका अगुवा किसान कृष्णविक्रम केसीले गुनासो गर्नुभयो । उहाँका अनुसार उत्पादन गरेको धान बिक्री नहुँदा जीविकोपार्जनमा समस्या भएको छ ।