कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमी बन्दै।

नेपालगञ्ज:= बाँकेको कोहलपुर-११ मा राष्ट्रियस्तरको महिला क्रिकेट एकेडेमी बन्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रत्यक्ष लगानीमा सुविधासम्पन्न एकेडेमी बन्ने,निर्माण हुने भएको हो । कुल १ अर्ब २२ करोड लागतमा बन्न लागेको एकेडेमीको नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ ।

उहाँले मन्त्री भएको पहिलो दिन नै बाँकेको कोहलपुरमा राष्ट्रिय क्रिकेट एकेडेमी बनाउने उद्घोष गर्नुभएको थियो । सो निर्णय कार्यान्वयनको चरणअन्तर्गत तीनदिने जिल्ला भ्रमणमा रहनुभएका मन्त्री अथकले  एकेडेमी बहुवर्षीय योजनाका रूपमा सञ्चालन हुने बताउनुभएको थियो ।

उहाँका अनुसार देशकै पहिलो तथा अत्याधुनिक सेवासुविधासहितको एकेडेमी मन्त्रालयको मुख्य प्राथमिकताको योजना हो । ‘क्रिकेट एकेडेमीका रूपमा विकास गर्ने लक्ष्य लिएर कामको प्रक्रिया सुरु भएको छ । त्यसैका लागि मन्त्रालयका प्राविधिकसहित हामी आएका छौं ।

फास्ट ट्र्याकमा यसको डीपीआरसमेत तयार भएको छ,’ मन्त्री अथकले भन्नुभयो, ‘रात्रिकालीन  सेवासहित आवासको समेत सुविधा हुनेछ ।’ एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरिएको छ । यो नेपालमा बन्ने परियोजनामध्ये राम्रो योजना भएको उहाँको भनाइ छ । अहिले मन्त्रालय र  राष्ट्रिय खेलकुद परिषद्को प्राथमिकता रहेको योजना तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य छ ।

यस्तै, कोहलपुर-१३ मा परीक्षण केन्द्र स्थापना गर्ने तयारी भएको उहाँले बताउनुभएको छ । त्यसका लागि अहिले ७० लाख बजेट सुनिश्चित गरिएको छ । एक पालिका एक खेलकुद ग्राम कार्यक्रममा कोहलपुर पनि समेटिने मन्त्री अथकले जानकारी दिनुभयो । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत यो योजना निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताउनुहुन्छ ।

‘नगरपालिकाले कोहलपुरको विकासका लागि खेलकुदलाई पनि प्राथमिकता दिएको छ । वर्षेनी बजेट पनि छुट्याउँदै आएका छौं । तर, प्रदेश र संघबाट अपेक्षाकृत सहयोग पाइएको छैन’, नगरप्रमुख रावतले भन्नुभयो, ‘रंगशाला निर्माणका लागि ठूलो आकारमा बजेट चाहिन्छ । उताबाट सानो स्केलमा बजेट विनियोजित हुँदा समस्या भएको छ ।’

बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला प्रस्तावित गरेको एक दशक बढी भइसक्यो । विसं २०६३ सालयता कोहलपुरमा क्रिकेट रंगशाला निर्माण हुने चर्चा चल्दै आएको छ । तर, रंगशाला निर्माणका लागि सरकारी तवरबाट देखिएको उदासीनताका कारण कोहलपुरमा क्रिकेट रंगशाला निर्माण गर्ने यहाँका क्रिकेटप्रेमीहरूको सपना पूरा हुन सकेको छैन ।

कोहलपुरको पहिचान बन्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा स्थानीय सरकारले केही तदारुकता देखाए पनि त्यसले अझै मूर्तरूप पाउन नसकेको हो । रंगशाला निर्माणकै लागि भनेर २०६३ मा कोहलपुर नगर विकास समितिले ४ बिगाहा १८ कठ्ठा जमिन छुट्याएको थियो। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एलवी क्षेत्रीका अनुसार कोहलपुरमा एकेडेमी निर्माण सुरु हुुनु सकारात्मक कुरा हो । उहाँले आफूहरूको सपना पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।