कांग्रेस १४औँ महाधिवेशन : १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु।

[ डिबी शर्मा ] 

काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु भएको छ । कुल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेकाले बाँकी जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार सोमबारबाट १४९ क्षेत्रमा अधिवेशन सुरु भएको हो ।

सोमबार सुरु हुन नसकेका कतिपय जिल्लामा तोकिएकै अवधिमा अधिवेशन सम्पन्न मंगलबारदेखि सुरु हुने उहाँले बताउनुभयो । ‘केही जिल्लामा यसअघि नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रसहित जिल्लासम्मका अधिवेशन भइसकेका छन्,’ उहाँले भन्नुभयो, ‘सोमबारबाट १४९ वटा निर्वाचन क्षेत्रमा अधिवेशनको प्रक्रिया सुरु भएको छ । कतिपयमा सोमबार प्रक्रिया मात्रै सुरु भएर अधिवेशन मंगलबार होला । जेहोस् तोकिएको समयमा निर्धारित क्षेत्रमा अधिवेशन सकिन्छ ।’

अधिवेशनबाट केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने उहाँले जानकारी दिनुभयो । एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको छ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ (सोमबार)का लागि तोकिएको थियो ।

यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा मात्र वडा अधिवेशन प्रारम्भ हुन बाँकी रहेको समितिले जनाएको छ ।

इतिहासलाई सिरानी हालेर मात्र हाम्रो श्रेष्ठता कायम रहन सक्दैन : थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताउनुभएको छ । महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले सोमबार अपिल जारी गर्दै पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रहसमेत गर्नुभएको छ । 

‘सोमबार देशभर पार्टीको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ,’ थापाको अपिलमा भनिएको छ, ‘सोमबार गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु ।’

पार्टीको नवनिर्माणका लागि संकल्प र विवेकसम्मत निर्णय गर्न क्षेत्रीय प्रतिनिधिहरूलाई उहाँले आह्वान गर्नुभएको छ । सही नेतृत्व चयन गरे मात्रै चीरकालसम्म जय नेपालभन्दा गर्व गर्न सक्ने स्थिति बन्ने उहाँको भनाइ छ । थापाले इतिहासलाई सिरानी हालेर मात्र पार्टीको श्रेष्ठता कायम रहन नसक्ने भन्दै कांग्रेसको पुनर्जागरण र नवनिर्माणमा सही निर्णय लिन पनि अपिल गर्नुभएको छ ।

‘सात दशकदेखि नेपाली राजनीतिको हरेक मञ्चमा हाम्रो पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीलाई गर्व छ । तर, इतिहासलाई सिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कामय रहन सक्दैन । परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भने मात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जानेछ,’ अपिलमा भनिएको छ ।

महाधिवेशन आवधिक रूपमा नेतृत्व छनोट गर्ने प्रक्रिया मात्रै नभई कस्तो कांग्रेस बनाउने भनेर निर्णय गर्ने अवसर पनि भएको नेता थापाको भनाइ छ । यसअघि पार्टीलाई दिशानिर्देश गर्ने समयमा अलमलिएर अवसर खेर गएको उहाँले उल्लेख गर्नुभएको छ ।

डडेल्धुरामा पुनः अधिवेशन गर्न माग गर्दै निर्वाचन समितिमा उजुरी

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अधिवेशन अवैध रहेको दाबीसहित निर्वाचन समितिमा उजुरी परेको छ । डडेल्धुराका कांग्रेस सभापति कर्ण मल्लले निर्वाचन समितिमा उजुरी दिनुभएको हो । क्रियाशील सदस्यता विवाद समाधान नहुँदै एकपक्षीय अधिवेशन गरेको उल्लेख गर्दै पुनः अधिवेशनको माग गरिएको छ ।

जिल्लामा १० दिन अनशन बस्दा नेतृत्वले सुनुवाइ नगरेपछि डडेल्धुराका नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा अनशन बसिरहेका छन् । मंसिर १ गतेदेखि मल्लको नेतृत्वमा अनशन जारी छ । संस्थापनइतरका नेता कार्यकर्ता अनशन बसिरहेकै बेला निर्वाचन समितिले प्रदेश निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशन गराएको छ । उनीहरूले सोमबार बिहान केन्द्रीय कार्यालयमा नाराबाजीसमेत गरे ।

आर्थिक समिति विस्तार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन भएका छन् । आर्थिक समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीनजना सल्लाहकार नियुक्त गर्नुभएको हो ।

कार्की संयोजक रहेको समितिमा उमेश श्रेष्ठ, दीपक खड्का, जिप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुगटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे सदस्य छन् । समितिको सल्लाहकारमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्टेन गुरुङलाई राखिएको छ ।