सेयर बजार सुधारको बाटो तर्फ।

काठमाडौं:= आइतबार उच्च गिरावट आएको सेयर बजारमा सोमबार सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४४ अंकमा पुगेको छ  । तर, नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । दिनभरको कारोबार रकम तीन अर्ब ९२ करोड रुपैयाँमात्रै कारोबार भएको छ । आइतबार चार अर्ब ३५ करोडको सेयर कारोबार भएको थियो । सोमबार पनि महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको ३४ करोड ४१ लाख रुपैयाँको कारोबार भएको हो।

मानुषी लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको सेयर मूल्य क्रमशः १० र ९.७५ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा बढी ३.७० प्रतिशतले घटेर प्रतिकित्ता आठ सय ८४ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएकामध्ये पाँचवटा समूह ओह्रालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिनामा नेपाली नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ । धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक प्रकरणका कारण खस्किएको थियो ।

उक्त प्रकरणबाट सेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले सेयर बजारमा ल्याएको नयाँ नियमनका कारण बजार प्रभावित हुँदै आएको छ । तर, विविध कारणले बजार प्रभावित भए तापनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो एक वर्षदेखि सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता बढ्दै जाँदा सेयर बजारले नयाँ रेकर्डसमेत कायम गर्न सफल भएको छ तर चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जामा चार करोडदेखि १२ करोड सीमा तोकेसँगै सेयर बजार ओह्रालो लागिरहेको छ ।

चार महिनादेखि सेयर बजार ओह्रालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से र  पुँजीकरण सकारात्मक देखिनु पुँजी बजारका लागि राम्रो पक्ष हो । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जामा लगाएको सीमामा लचकता अपनाएमा पुनः सेयर बजारले गति लिने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेप्सेमा तीन अर्ब ५६ करोड बराबरको सर्वसाधारण सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार तीन अर्ब ५६ करोडको सेयर नेप्सेमा सूचीकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ सेयर थपिएको छ । तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस सेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ ।

त्यसैगरी ३३ अर्ब तीन करोड बराबरको डिबेन्चर र दुई अर्ब ५० करोड बराबरको म्युचुअल फन्डसमेत सूचीकृत भएको छ । असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य पाँच खर्ब ८१ अर्ब २६ करोड रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा दुई सय २२ कम्पनी सूचीकृत भएका छन्, जसमा एक सय ४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् ।

उत्पादन तथा प्रशोधन उद्योग १९, जलविद्युत् कम्पनी ४१, चार व्यापारिक संस्था, पाँच होटल, पाँच लगानी कम्पनी र तीन अन्य समूह रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा दुई सय नौ कम्पनीमात्रै सूचीकृत थिए । सूचीकृतमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको पुँजीकरणको बजार हिस्सा ७०.७ प्रतिशत रहेको छ । त्यस्तै जलविद्युत्को ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्य समूहका कम्पनीको हिस्सा ७.६ प्रतिशत रहेको छ ।

गत असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोडमात्रै थियो । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले तीन अर्ब बराबरको म्युचुअल फन्ड, एक अर्ब ५८ करोड बराबरको साधारण सेयर, एक अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद सेयर गरी कुल छ अर्ब दुई करोडको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

पछिल्लो तीन महिनामा नेप्सेमा सूचीकृत सेयरमा युनियन लाइफ इन्स्योरेन्सको दुई करोड १५ लाख कित्ता, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ६० लाख ६४ हजार एक सय कित्ता, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १२ लाख ११ हजार पाँच सय कित्ता रहेका छन् । साउन महिनामा तीन नयाँ आइपीओसहित २१ कम्पनीको बोनस सेयर सूचीकृत भएका छन् ।

त्यस्तै सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको दुई करोड कित्ता, मैलुङ खोला जलविद्युत् कम्पनीको सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाँ बराबरको सात लाख ३६ हजार दुई सय ८६ कित्ता, मानुषी लघुवित्त वित्तीय संस्थाको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता रहेका छन् ।