काठमाडौं := १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएका उपसभापति विमलेन्द्र निधिले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।
सोमबार प्रतिबद्धता सार्वजनिक गर्दै उपसभापति निधिले कांग्रेसमा रूपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफू सभापति बन्नुपर्ने जिकिर गर्नुभएको छ।जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन, देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई-मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ ।
भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन पनि आफ्नो उम्मेदवारी रहेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गराउन आफूले पहल गर्ने उहाँको प्रतिबद्धता छ ।
कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महŒव दिँदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्न, नेपाली कांग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न पनि आफ्नो उम्मेदवारी रहेको पत्रमा उल्लेख छ ।
छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै राष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास गर्न आफू सभापति बन्नुपर्ने उहाँको जिकिर छ । जनतासँग कांग्रेस र कांग्रेससँग जनतालाई साँचो अर्थमा आबद्ध गर्न, मतदातासँग रूख चिन्ह र रूख चिन्हसँग मतदातालाई बलियोसँग जोड्न पनि आफू सभापति हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाली कांग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न र पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउन, विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्न आफू सभापति बन्नुपर्ने उहाँको प्रतिबद्धता छ ।




















