लन्डन:= इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी हुँदा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । लिग तालिकाको शीर्षस्थानमा रहेको चेल्सीले लेस्टर सिटीलाई ३-० ले हराएको हो । लेस्टर सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, एन्गोलो कान्टे र क्रिश्चियन पुलिसिकले एक–एक गोल गर्नुभयो ।
जितसँगै चेल्सीले लिगमा १२ खेलबाट २९ अंक जोडेको छ ।समान खेलबाट २५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । लिभरपुलले आर्सनलमाथि ४-० को जित निकाल्यो । खेलमा लिभरपुललाई विजयी गराउन सादियो माने, डिएगो योटा, मोहम्मद सलाह र मिनामिनोले एक÷एक गोल गर्नुभयो ।
प्रिमियर लिगकै अर्को खेलमा वाट्फोर्डले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले हराउँदा वुल्भरहृयाम्पटन वान्डरर्सले वेस्ट हृयाम युनाइटेडमाथि १-० को जित निकाल्यो । एस्टन भिल्लाले ब्राइटनलाई २-० ले हराउँदा बर्नले र क्रिस्टल प्यालेस तथा न्युकासल युनाइटेड र ब्रेन्टफोर्डले तीन/तीन गोलको बराबरी खेलेका छन् ।




















