‘फ्रि भिसा, फ्रि टिकट’ लागू नगरे कारबाही गर्छौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ।

काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताउनुभएको छ । वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक कार्यक्रममा उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताउनुभएको हो ।

साथै उहाँले फ्रि भिसा, फ्रि टिकट लागू नगर्नेलाई कानुनी कारबाही गरिने बताउनुभयो । आफ्नो पहिलो प्राथमिकता कामदारको हकहित भन्दैै उहाँले कामदारको हकहित खोस्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो । ठगिएका कामदारका कुरा नसुनी कुनै मुद्दा नछिन्ने बताउँदै उहाँले जतिसुकै दबाब आए पनि कामदारको सुरक्षा र हकहितमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कामदारलाई एजेन्टमार्फत् नभई सिधा म्यानपावरसम्म पुर्‍याउन पहल गर्ने पनि उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारमा गएका धेरै नेपालीहरूको मृत्यु भएको भन्दै सो सम्बन्धमा अनुसन्धान गरेर अघि बढ्ने बताउनुभयो । सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरूको भएको भन्दै कामदारहरूले न्यूनतम पारिश्रमिक पाउने व्यवस्थाका लागि समेत पहल गरिरहेको दाबी गर्नुभयो ।