देशभित्रका सात पार्टीलाई बोलाउँदा माधव नेपाललाई छैन निम्ता
काठमाडौं:= नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि नेपालका राजनीतिक दल र नेपालसँग मैत्रीपूर्ण सम्बन्ध रहेको विभिन्न देशका पाँच दर्जन बढी पार्टीलाई निमन्त्रणा गरिएको छ । एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुभएका माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूलाई महाधिवेशनमा नबोलाउने निर्णय गरेको एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरूलाई भने आमन्त्रण गरेको छ ।
एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार संघीय संसद्मा रहेका सातवटा राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा निम्ता दिइएको छ । सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई यही मंसिर ३ गते एमाले नेता सुवास नेम्वाङसहितको टोलीले निमन्त्रणा पत्र हस्तान्तरण गरेको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य दलका अध्यक्षलाई पनि निमन्त्रणा दिइएको एमालेको महाधिवेशनका लागि गठित अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले बताउनुभयो । देशभित्र रहेको कूटनीतिक नियोगका प्रमुखहरूलाई पनि निमन्त्रणा गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले देशभित्रका कूटनीतिक नियोगका प्रमुखहरूलाई पनि निम्ता गरेका छौँ, कतिपय प्रमुखहरूले आउने भनेर हामीलाई खबर पनि गर्नुभएको छ । ’
अहिलेसम्म भारतबाट तीनवटा पार्टीका प्रमुख नेपाल आउने निश्चित भएको उहाँले बताउनुभयो । भारतबाट भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी लिवरेशन पार्टीले आउने निश्चित भएको छ ।
फरवार्ड ब्लकले पनि महाधिवेशनमा आउने निश्चित गरेको जनाइएको छ । त्यसैगरी, बंगलादेशको कम्युनिष्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ भने रिभोलेसनरी वर्कर पार्टी र श्रीलंकाबाट जेभिपी पार्टीका प्रतिनिधि आउने बताइएको छ । एमाले विदेश विभाग प्रमुख भट्टराईले कम्बोडियाको सत्तासीन पार्टी कम्बोडियन पिपुल्स पार्टीका प्रतिनिधिले आउने निश्चित गरेको र फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले पनि आउने निश्चित गरेको छ ।
यस्तै, युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरूले आउने चासो राख्दा-राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने भएका छन् । दक्षिण एसियाका अरू रुलिङ पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएका छन् ।
नर्थकोरिया पार्टी, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुंगो गर्ने उहाँले जानकारी गराउनुभयो । अहिलेसम्म बेल्जियम, आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको उल्लेख गर्नुहुँदै भट्टराईले जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने बताउनुभयो ।
अन्तर्राष्ट्रिय पाहुनालाई ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौं आइपुग्न भनिएको र उनीहरूलाई १० गते बिहान काठमाडौंबाट चितवन लगिने पनि भट्टराईले बताउनुभयो । चितवनमा उद्घाटन सत्रमा सहभागी गराएपछि उनीहरूलाई सौराहाको होटलमा बस्ने व्यवस्था गरिएको छ । उनीहरूको सम्मानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ । सत्ता गठबन्धन चिर्वाचनसम्म जान नसक्ने उल्लेख गर्नुहुँदै उहाँले एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो । काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल संवत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छौँ ।’
अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई देख्न नसक्नेहरू फुटाएको आरोप लगाउनुभयो । ओलीलाई सबै राजनीतिक दलहरू मिलेर आए पनि एमालेलाई केही फरक नपर्नेसमेत बताउनुभयो । गठबन्धन निर्वाचनसम्म जाने कुरामा नेपाली कांग्रेस मौन रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन । तर, नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरू दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।’
उहाँले औँला समातेर हिँड्न पल्केकाहरूलाई कांग्रेसले कहिलेसम्म औँला दिने हो भन्ने थाहा नभएको बताउनुभयो । आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाउनेहरू कांग्रेसको औँला समातेर हिँडे पनि कहिलेसम्म कांग्रेसले औँला दिन्छ भन्ने कुरा आफूलाई पनि थाहा नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरू, कांग्रेसको आंँैला समातेर हिँड्न पल्केकाहरू, त्यो हिँड्न खोज्छन् नै । तर, कांग्रेसले कहिलेसम्म औँला दिन्छ, मलाई थाहा छैन ।’ अध्यक्ष ओलीले नेकपा एमाले फोहोरबिनाको स्वच्छ भएको दाबी पनि गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि पनि एमाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वतको क्यालेण्डरसमेत सार्वजनिक गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पु¥याइरहेको बताउनुभयो । उहाँले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिनुभयो । महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताउनुभयो ।




















