निक्षेप संकलन ३५ अर्बले घट्यो।

काठमाडौं := वाणिज्य बैंकहरूको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । २७ वाणिज्य बैंकमध्ये असोजको तुलनामा कात्तिकमा १९ बैंकको निक्षेप र नौ बैंकको कर्जा लगानी घटेको हो । तथापि सो अवधिमा आठ वाणिज्य बैंकले निक्षेप र १८ वाणिज्य बैंकले कर्जा लगानी बढाएका छन् । असोज महिनाको तुलनामा कात्तिक महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घटेर कुल ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँमा खुम्चिएको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

हिमालयन बैंकको निक्षेप सबैभन्दा धेरै १४ अर्ब ६० करोड रुपैयाँले बढेको छ भने एनआइसी एसिया बैंकको निक्षेप सबैभन्दा धेरै १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ । कात्तिक अन्तिमसम्ममा बैंकहरूको कुल कर्जा लगानी ३६ अर्ब १२ करोड रुपैयाँले बढेर ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । एनआइसी एसिया बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ । कर्जा लगानीतर्फ कात्तिक महिनामा हिमालयन बैंकले सबैभन्दा धेरै छ अर्ब सात करोड रुपैयाँले बढाएको छ भने राष्ट्रिय वाणिज्य बैंकको कर्जा दुई अर्ब ५६ करोडले घटेको छ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो चार महिनामा तीन खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने ३२ अर्बले निक्षेप थपिएको छ ।

वाणिज्य बैंकहरूमा साउन १ गतेदेखि कात्तिक मसान्तसम्ममा ३२ अर्बमात्र निक्षेप थपिएको छ भने तीन खर्ब १३ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरूले निक्षेप संकलनको तुलनामा ९.७८ गुणा बढी कर्जा परिचालन गरेका छन् । गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४२ खर्ब एक अर्ब निक्षेप रहेकोमा कात्तिक मसान्तसम्म ४२ खर्ब ३३ अर्ब पुगेको छ । त्यस्तै गत असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका बैंकहरूको कर्जा विस्तार ४० खर्ब ३४ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको निक्षेप साउनमा ७८ अर्बले घटेको थियो । भदौमा ४८ तथा असोजमा ९८ अर्बले निक्षेप थपिए पनि कात्तिकमा ३६ अर्बले घटेको थियो । वाणिज्य बैंकहरूले साउनमा ४३ अर्ब थप कर्जा विस्तार गरेकोमा भदौमा एक खर्ब आठ अर्ब, असोजमा एक खर्ब २६ अर्ब तथा कात्तिकमा ३६ अर्ब कर्जा विस्तार गरेका छन् ।

लाभांश घोषणा गर्दै बैंकहरू

पछिल्लो समय बैंकहरूबीच लाभांश घोषणाको प्रतिस्पर्धा नै चलेको छ । हालसम्म २१ वटा वाणिज्य बैंकहरूले लाभांश घोषणा गरिसकेका छन् । आर्थिक वर्ष २०७७÷०७८ सम्मको नाफाबाट नबिलले ३३.६ प्रतिशत बोनस सेयरसहित ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बढी लाभांश घोषणा गर्नेको दोस्रो स्थानमा रहेको हिमालयनले २१.३८ प्रतिशत बोनस सेयरसहित २६ प्रतिशत लाभांश दिने भएको छ ।

२० प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्ने वाणिज्य बैंक नबिल र हिमालयनमात्र हुन् । त्यस्तै नेपाल बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, एनआइसी एसिया बैंक, नेपाल बंगलादेश बैंक र सिद्धार्थ बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् ।

नेपाल बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने सानिमा बैंकले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर र ०.८९७४ प्रतिशत नगद गरी कुल १७.८९७४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद गरी कुल १६.६३१३ प्रतिशत लाभांश दिने भएको छ भने सिटिजन्स बैंक इन्टरनेसनलले  सेयरधनीलाई १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत, एनएमबी बैंकले १२.५ प्रतिशत बोनस सेयरसहित कुल १५.८ प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस सेयरसहित  १५.७८९४ प्रतिशत, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस सेयरसहित १५.५ प्रतिशत र सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस सेयरसहित कुल १५ प्रतिशत लाभांश दिने भएका छन् ।

१५ प्रतिशतभन्दा कम लाभांश दिने बैंकहरू बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, मेगा बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सनराइज बैंक, माछापुच्छे« बैंक रहेका छन्् । बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने भएको छ ।

ग्लोबल आइएमईले १० प्रतिशत बोनस सेयरसहित १३.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले १० प्रतिशत बोनससहित १३.०६ प्रतिशत, प्रभुले १२ प्रतिशत बोनससहित १२.६७ प्रतिशत, एभरेष्टले छ प्रतिशत बोनससहित १०.३२ प्रतिशत, लक्ष्मी बैंकले आठ प्रतिशत बोनससहित ११.५ प्रतिशत, कुमारीले छ प्रतिशत बोनससहित ८.६७ प्रतिशत र सनराइज बैंकले सबैभन्दा कम सात प्रतिशत लाभांश घोषणा गरेका छन् । मेगा बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश गरी कुल १२.०७ प्रतिशत लाभांश दिने भएको छ ।