बझाङलाई आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र।

बझाङ:= कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङले आलुखेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजना बझाङले कृषकलाई आलुखेतीमा प्रोत्साहन गर्नका लागि उन्नत जातको आलुको बिउ, आवश्यक आधुनिक औजार, सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।

बझाङमा अन्य नगदेबालीहरूको उब्जनी कम हुने भएकाले जतिसक्दो आलुखेती लगाई जिल्लालाई आलु जोनका रूपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले गहुँखेतीभन्दा आलु लगाउन आदेश दिएको छ । गहुँभन्दा आलु बढी उब्जनी हुुन्छ । नाफा पनि सोहीअनुसार हुन्छ । आलुबाट कृषकले मनग्ये आम्दानी गर्न सक्छन् । त्यसैले अब बझाङलाई आलु जोनका रूपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।’

प्रमुख विष्टका अनुसार कृषि ज्ञान केन्द्रले बिउ वितरणदेखि बजारीकरण, प्याकेजिङ, निःशुल्क ढुवानी गर्नेसम्म सबै काम गर्ने बताउनुभयो । यसअघि पनि यस्ता विभिन्न कार्यक्रमहरू आए पनि खासै काम हुन नसकेको र आगामी दिनमा माटो सुहाउँदो बिउको प्रयोग गरी जमिनको दायरा पनि बढाउँदै लगिनेसमेत प्रमुख विष्टको भनाइ छ ।

आलुखेतीबाट आफूहरू सन्तुष्ट भएको कृषकहरूको भनाइ छ। जयपृथ्वी नगरपालिका ११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताउनुभयो ।

साथै उहाँले गहुँखेतीभन्दा पनि आलुखेतीले मनग्ये आम्दानी हुने आशामा गहुँखेती छोडेर आलुखेती लगाएको बताउनुभयो । परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलुखेती सिँचाइ गर्न निकै सहज भएको उनीहरूको भनाइ छ। अहिले कृषकहरूले आलुखेतीसम्बन्धी प्रशिक्षण पनि लिँदै आएका छन् ।