काठमाडौं:= कोरोना भाइरस (कोभिड-१९) को महामारी र यसको रोकथाम र नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ का कारण सुस्ताएको नेपाली चलचित्र उद्योग अब विस्तारै चलायमान हुन थालेको छ ।
प्रदर्शन रोकिएका चलचित्रहरूले प्रदर्शन मिति तोकेर प्रचारप्रसार गर्न थालेका छन् भने केही निर्माताहरू नयाँ चलचित्र निर्माणमा जुटेका छन् । यस्तै लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहनुभएका करण सिंहको निर्माणमा नयाँ चलचित्र बन्न लागेको छ । यो चलचित्रमा नायक पल शाह अनुबन्धित हुनुभएको छ ।
आरके एस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने लभस्टोरी चलचित्रको कथा सिंहकै रहेको छ भने पटकथा अभिमन्यु निरवीको रहने बताइएको छ । चलचित्रको नाम केही दिनमा औपचारिकरूपमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
चलचित्रका लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टिमको छनोट गर्ने कार्य भइरहेको छ । माघको अन्तिममा फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ ।




















