दुषप्रभाव नभएको औषधि विश्वमै आयुर्वेदिक: प्रधानमन्त्री देउवा।

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा आयुर्वेद औषधि बनाउका लागि सरकारले सम्पूर्ण सहयोग गर्ने बताउनुभएको छ । शुक्रबार रामदेव पतञ्जली योगपीठ नेपालले आयोजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आवश्यक जग्गादेखि अन्य कुराको सहयोग गर्ने बताउनुभएको हो ।

देउवाले भन्नुभयो, ‘नेपालमै आयुर्वेदिक औषधिहरू बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ।’ प्रधानमन्त्री देउवाले योगको महत्व संसारभर रहेको पनि बताउनुभएको छ । संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरूको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आउनुभएको बताउनुभयो ।

उहा“ले भन्नुभयो, ‘आज संसारमा योगा स्वास्थ्यका लागि सबैभन्दा उत्तम स्वस्थ रहनका लागि बाबा रामदेवलाई सबैले सम्झिन्छन्, आयुर्वेद सबैभन्दा उचित, सबैले मानिसके, साइड इफेक्ट नभएको एउटा मात्रै आयुर्वेद औषधि छ, साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ ।’

बाबा रामदेव क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताउनुभएको छ । विगतमा आफूले बाबा रामदेवलाई रुढीवादी र परम्परावादी ठान्ने गरेको भए पनि अहिले आएर वैज्ञानिक र क्रान्तिकारी भएको महसुस भएको बताउनुभयो ।

उहा“ले भन्नुभयो, ‘पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो, नजिक भयौँ, छलफल गर्न थाल्यौँ, कताकता मलाई पहिला लाग्थ्यो उहा“ अलि बढी रुढीवादी, परम्परावादी हुनुहुन्छ होला भन्ने लाग्थ्यो, तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँँदो रहेछ, त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो ।’

प्रचण्डले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्री इन वान भएको बताउनुभयो । योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावदी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताउनुभयो । अध्यक्ष दाहालले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको बताउँदै अब कार्यक्रम गर्ने बताउनुभयो ।

प्रचण्डले बाबा रामदेवले योगलाई नयाँ क्रान्तितर्फ डोेर्‍याएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यताबाट महाउद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो । त्यसकारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्री इन वान हुनुभयो ।’

योगको साधना हामी सबैले गर्नुपर्छ : नेपाल

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताउनुभयो । उहाँले योगको अभ्यास सबैले गरे मात्रै शरीर स्वस्थ हुने बताउनुभयो । उहाँले पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको पछि योगाभ्यासले नै सहज बनाएको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘योग र साधनाको बेग्लै महत्व छ । योगको अभ्यास हामी सबैले गर्नुपर्छ । स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ, ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ यसले मनमा शान्ति ल्याउँछ ।’

अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई विस्तार र प्रयोग गर्नुपर्ने बताउनुभयो । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ । योगपीठले शुक्रबार स्वदेशी समृद्धि कार्डको पनि प्रारम्भ गरेको छ ।