म्यानमारकी नेतृ सुकीलाई निर्वाचनमा धाँधली गरेको आरोप।

यांगुुन:= म्यानमारको जुन्ता सरकारले अपदस्थ नेतृ आङ साङ सुकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ । गत सन् २०२० मा भएको संसदीय निर्वाचनमा सुकीले अनियमितता गरेको सैनिक सरकारले आरोप लगाएको हो ।

म्यान्मारको सेनाले सुकीले सन् २०२० को चुनावका बेला सत्ताको दुरुपयोग गरी धाँधली गरेको आरोपमा अभियोग दर्ता गरेको छ । उहाँलाई कैयौं वर्ष कारावासको सजाय सुनाइने अनुमान गरिएको छ । गत साता सुकीकै दलका नेतालाई ९० र ७५ वर्ष जेल सजाय सुनाइएको थियो ।

म्यानमारको सैनिक नेतृत्वले गत फेब्रुवरी १ तत्कालीन सरकारका पदाधिकारी र राजीतिक दलका नेताहरूलाई अपदस्थ गर्दै नियन्त्रणमा लिएको छ भने सरकार पनि आफ्नो हातमा लिएको छ ।

सैनिकले नेताहरूलाई थुनेर सत्ता हातमा लिएपछि त्यसविरुद्धमा देशभरी आन्दोलन भइरहेको छ । प्रदर्शनमा हजारभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने सयभन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । यसैगरी १० हजारभन्दा बढी व्यक्ति जेलमा छन् ।

म्यामारमा प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गर्नुभएकी ७६ वर्षीया सुकीलाई भ्रष्टाचार गरेको, शक्तिको दुरुपयोग गरेकोलगायत अन्य मुद्दा लगाइएको छ । तर, उहाँलाई लगाएको मुद्दाहरूका बारेमा पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन । संघीय निर्वाचन आयोगले सुकीको पार्टीलाई भंग गर्ने र आगामी निर्वाचनमा भाग लिन नपाउने संकेत गरेको छ । सेनाले दुई वर्षपछि चुनाव गराउने बताएको छ ।