पक्षमा ५०, विपक्षमा २९ मत
विराटनगर:= पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री हुनुभएका प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाउनुभएको छ । बुधबार राईले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको हो । बहुमत हासिल गरेसँगै मुख्यमन्त्री राईले स्थानीय तहको चुनाव गराउने गरी सरकार सञ्चालन गर्न पाउने हुनुभएको छ । ९२ सदस्यीय प्रदेशसभामा पाँच दलीय गठबन्धनभित्र ५० सांसद छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग सभामुख र उपसभामुखसहित ४१ सांसद छन्। राप्रपाको एक सांसद छ ।
पाँच दलीय गठबन्धनभित्र नेपाली कांग्रेस २१, नेकपा माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपाल तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरेर ५० सांसद छन् । विश्वासको मतका लागि भएको मतदानमा गठबन्धनभित्रका सबै सांसदहरूले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेनन् । प्रमुख प्रतिपक्ष एमालेका ४१ सांसदमध्ये बुधबार प्रदेशसभामा २८ सांसद उपस्थित थिए । राप्रपामा भने मतदानमा सहभागी भएन ।
कात्तिक १६ गते प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न नसक्दा नेकपा एमाले प्रदेश संसदीय दलका नेता तथा पूर्व–मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिनुभएको थियो । कात्तिक १७ गते मुख्यमन्त्रीको शपथग्रहण गर्नुभएका राईले मंसिर १ गते बुधबार सरकार सञ्चालन गरेको १४औँ दिनमा प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न सफल हुनुभएको हो ।
कात्तिक ३० गते विश्वासको मतका लागि प्रदेशसभामा कार्यसूची रहे पनि प्रमुख प्रतिपक्ष एमाले अनुपस्थित रहेपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबारसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गर्नुभएको थियो । विश्वासको मतका लागि भएको छलफलमा एमाले नेता तथा पूर्व–आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सत्तारूढ नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनको सरकारलाई पुतलीको खेलसँग तुलना गर्नुभयो । साना दलले मुख्यमन्त्री पाउने र ठूलो दल मन्त्रीमा चित्त बुझाउने भन्दै लोकतन्त्रको उपहास भएको उहाँले बताउनुभयो ।
को हुनुहुन्छ मुख्यमन्त्री राई ?
विसं. २०२७ साल असार १५ गते भोजपुरको (किमालुङ गाविस) हालको षडानन्द नगरपालिका-१० सुर्केमा जन्मनुभएका राजेन्द्रकुमार राई बुवा नरेन्द्रबहादुर र आमा धनकुमारी राईका चार सन्तानमध्येका कान्छा छोरा हुनुहुन्छ । राईले विद्यालयको अखिल इकाई सचिवबाट राजनीति सुरु गर्नुभएको हो । २०४३ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँ काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गर्नुभयो । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका मुख्यमन्त्री राई राजनीतिमा प्रवेश गरेको ३७ वर्ष पूरा भएको छ ।
एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उहाँ २०५७ मा अखिल अध्यक्ष बन्नुभयो । दुईवर्षे कार्यकाल सिध्याएर उहाँ पुनः ०५९ देखि ०६१ सम्म दोस्रोपटक अखिल अध्यक्ष बन्नुभएको थियो । २०४९ मा रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति हुनुभएका मुख्यमन्त्री राई अध्यक्ष हुँदा एमाले अखिल स्ववियु निर्वाचनमा सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको थियो ।
लामो समय अखिल राजनीतिमा सक्रिय उहाँ २०६८ मा एमाले केन्द्रीय सदस्य मनोनीत हुनुभयो । २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उहाँ पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । गएको भदौ ९ मा एमाले विभाजित बनेपछि राई ओली पक्ष छाडेर माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा सामेल हुनुभयो । नेकपा (एस)को १ नं. प्रदेश संसदीय दलका नेता हुनुभएको राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री हुनुभएको हो ।




















