अबदेखि ई-पासपोर्ट: अब अनलाइनबाटै राहदानीका लागि आवेदन दिन सकिने।

काठमाडौं:= अब अनलाइनबाटै राहदानीका लागि आवेदन दिन सकिने भएको छ । राहदानी विभागले बुधबार विद्युतीय राहदानी (ई–पासपोर्ट) सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि जारी गरिएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई विस्तारै प्रतिस्थापन गर्दै ई–पासपोर्टमा जाने उद्देश्यसाथ विभागले ई–पासपोर्टको शुभारम्भ गरिएको विभागले जनाएको छ ।

विभागले त्रिपुरेश्वरस्थित विभाग परिसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो साधारण ई–पासपोर्ट प्रदान गर्दै सेवाको सुरुवात गरेको हो । केही समयपछि प्रतिघण्टा एक हजारप्रति ई–पासपोर्ट निकाल्न सकिने विभागले जनाएको छ । विभागका महानिर्देशक डोरनाथ अर्यालले ई–पासपोर्ट जारी भएसँगै अब नेपालको राहदानी विश्वासयोग्य हुने बताउनुभयो ।

लामो समयको परीक्षणपछि ई-पासपोर्ट कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी गराउनुभयो । छिटोमा १५ मिनेटभित्र ई–पासपोर्ट वितरण गर्न सकिने उहाँको भनाइ छ । तर, तत्काल भने मागेजति ई–पासपोर्ट उपलव्ध नहुने पनि उहाँले बताउनुभयो । सिष्टममा एकैपटक पुराना फाइलहरू लोड गर्न नमिने भएकाले विस्तारै पुराना फाइलहरू राखेपछि माग गरेको समयमा पासपोर्ट वितरण सकिने उहाँले बताउनुभयो ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफूले हस्तलिखित पासपोर्ट बोक्नुपर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै विद्युतीय पासपोर्टले निकै सहज हुने बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा नेपालको छविका लागि पनि ई–पासपोर्ट महत्व हुनसक्ने उहाँको दाबी छ । विभागले सात किसिमका ई–पासपोर्ट जारी गर्ने भएको छ । कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी छ किसिमका पासपोर्ट जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्टसमेत थप गरिएको विभागले जनाएको छ ।

कूटनीतिक राहदानी सिम्रिक रातो बनाएको छ । यसअघि रातो रंगमा थियो । त्यस्तै, विशेष राहदानी आकाशे नीलो, सर्भिस राहदानी सुन्तला, साधारण राहदानी चकलेटी खैरो र यात्रा अनुमतिपत्र कालो, सिम्यान्स अभिलेख किताब स्लेट खैरो, अस्थायी राहदानी चकलेटी खैरो हुने राहदानी नियमावली २०७७ मा उल्लेख छ ।