कफीको मूल्य निर्धारण।

काठमाडौं:= कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यावसायिक कफी उत्पादनमा युवाको योगदान भन्ने नाराका साथ राष्ट्रिय चिया तथा कफी विकास यस वर्ष मंसिर १ गते अर्थात् बुधबार १७औँ राष्ट्रिय कफी दिवस मनाउने भएको छ ।

कफी उत्पादक किसान, स्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरूको राष्ट्रिय पर्वका रूपमा रहेको यो पर्व विभिन्न कार्यक्रम गरी मनाइने राष्ट्रिय कफी बोर्डले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

बोर्डका अनुसार आव २०७७/०७८ मा नेपालभर २९६.५ मेट्रिकटन ग्रिन विन कफी उत्पादन भएको थियो । आव २०७७/०७८ मा १० करोड ६७ लाख बराबरको १९८.७६ मेट्रिकटन कफी आयात हुँदा नौ करोड ६० लाख बराबरको ७२.४८ मेट्रिकटन कफी निर्यात भएको छ । कुल उत्पादनको झण्डै २५ प्रतिशत कफी निर्यात हुँदै आएको छ्र ।

नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रभन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ  ।बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी यस वर्षको कच्चा कफीको मूल्य निर्धारण गरेको छ । फ्रेस चेरी कफीतर्फ ग्रेड ‘ए’ को प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

ग्रेड ‘बी’ को प्रतिकेजी ८० रुपैयाँ रहेको छ । त्यस्तै पार्चमेन्ट कफीतर्फ ग्रेड ‘ए’ को प्रतिकेजी चार सय ५० रुपैयाँ र ग्रेड ‘बी’ को प्रतिकेजी तीन सय ९७ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यसैगरी ड्राइ चेरी ग्रेड ‘ए’ को प्रतिकेजी एक सय ४८ रुपैयाँ र ग्रेड ‘बी’ को प्रतिकेजी ९५ रुपैयाँ रहेको छ ।

कफी किसानलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवालाई आकर्षण गरी सीमित क्षेत्रमा गरिँदै आएको कफी खेतीलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन गरी आत्मनिर्भर बन्न सकिने बोडको भनाइ छ ।

न्यून स्रोतसाधनका बाबजुद पनि व्यावसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ युवालक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ भने केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग पनि योजनाबद्ध समन्वयात्मक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

गत वर्षदेखि बोर्डले व्यावसायिक उत्पादनका लागि सम्भावित प्रदेशमा सम्भाव्यता अध्ययन गरी चक्लाबन्दीमा कफी क्षेत्र विस्तार, स्थानीय क्षेत्रभित्र व्यावसायिक नर्सरी बिरुवा उत्पादन तथा नार्कसँगको समन्वयमा अनुसन्धानात्मक प्रविधिको विकास कार्यक्रमलाई प्रमुखताका साथ अघि बढाइएको जनाएको छ ।