लन्डन:= कतारमा हुने विश्वकप फुटबलका लागि इंग्ल्यान्ड र स्विट्जरल्यान्ड छनोट भएका छन् । सोमबार राति भएको समूहको अन्तिम खेलमा सानमारिनोमाथि १०-० को फराकिलो जित निकाल्दै इंग्ल्यान्ड विश्वकपमा छनोट भयो ।
यो समूहमा दोस्रो स्थान लिएको पोल्यान्डले प्ले अफ खेल्नुपर्ने भएको छ । सोमबार राति भएको अर्को खेलमा बुल्गेरियालाई ४-० ले हराउँदै स्विट्जरल्यान्ड पनि विश्वकपका लागि छनोट भयो । दोस्रो स्थानमा रहेको इटाली प्ले अफमा सीमित भयो ।
युरोपियन च्याम्पियन इटालीलाई सोमबार राति नर्दन आयरल्यान्डले गोलरहित बराबरीमा रोेकेको हो । विश्वकप छनोटकै अन्य खेलहरूमा स्कटल्यान्डले डेनमार्कलाई २-० ले हराउँदा अस्ट्रियाले मल्दोभालाई ४-१ ले तथा हंगेरीले पोल्यान्डलाई २-१ ले हराएका छन् । विश्वकप छनोटअन्तर्गत युरोपेली समूहका बाँकी छनोट खेलहरू मंगलबार राति हुनेछन्।
इटाली विश्वकप फुटबलमा सोझै छनोट हुन असफल भएको छ। युरोपियन छनोटअन्तर्गत सोमबार राति नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको हो ।
युरोकप विजेता इटालीले सिधै विश्वकपमा स्थान बनाउन खेल जित्नैपर्ने थियो । छनोटको समूह ‘सी’ मा रहेको इटालीले आठ खेलमा १६ अंक जोड्यो र दोस्रो स्थानमा रहृयो । नर्दन आयरल्यान्ड नौ अंक जोडेर तेस्रो स्थानमा छ ।
यता चोटका कारण ब्राजिली स्टार नेइमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउनुहुने भएको छ । विश्वकप छनोटअन्तर्गतको यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर १५ मिनेटमा हुनेछ । देब्रेपट्टिको खुट्टामा असहज महसुस गरेपछि नेइमारले खेल गुमाउने हुनुभएको हो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले भने यस प्रतिस्पर्धामा सहभागिता जनाउनुहुनेछ । यसअघि पेरिस सेन्ट जर्माइनबाट खेल्दा उहाँले पनि असहज महसुस गर्नुभएको थियो । तर, उहाँ पूर्ण ठीक भइसकेको अर्जेन्टिनी प्रशिक्षक लियो स्कालोनीले बताउनुभएको छ । ‘मेस्सीले खेल्नेछन् । आशा गरौँ, उहाँले राम्रो गर्नुहुनेछ,’ स्कालोनीले भन्नुभयो ।




















