कपिलवस्तु := कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।
बुर्तिबाङ-पाउदी अमराई-तम्घास-सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो । सबस्टेसनमा ३० र १६ एमभिएका पावर ट्रान्सफर्मर रहनेछन् । सबस्टेसनका सम्पूर्ण उपकरणहरूको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ ।
पूर्व-पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिनेछ । टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजनाअन्तर्गतको मोतीपुर-सन्धिखर्क खण्डको प्रसारण लाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टांगिएको छ ।
उक्त खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर रहेको छ । मोतीपुर-सन्धिखर्क प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्नपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ । जसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ भने विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ ।
अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत् अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प-झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएभन्दा अगाडि नै काम सक्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प-झ्याप्प बत्ती गएको भन्दै मलाई सिधै फोन गरी धेरै गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौँ, त्यसैले सबस्टेसन र प्रसारण लाइनको निर्माण जति सक्दो छिटो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ ।’
उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै उहाँले सबस्टेसन र प्रसारण लाइनको निर्माणपछि सो क्षेत्रका उद्योगलाई चाहिए जति विद्युत् दिन सकिने बताउनुभयो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।




















