‘सत्यम’ फिल्ममा मलिका आउट उपासना इन।

काठमाडौं:= निर्माण नहुँदै चर्चामा रहेको चलचित्र ‘सत्यम’मा नायक पल शाह र मलिका महतको जोडी बाधिने चर्चा खुवै थियो । तर अहिले मलिका चलचित्रबाट बाहिरिनु भएको छ । अब मलिकाको स्थानमा अर्की नायिका उपासना सिंह ठकुरी रहने निर्माण टिमले जनाएको छ । उहाँ अभिनेता पल शाहको जोडीको रूपमा देखिनुहुनेछ । यसमा महानायक राजेश हमालको मुख्य भूमिका रहनेछ ।

पढाइ र सुटिङको समय तालिका नमिल्ने भएपछि महतले चलचित्र छाड्नुभएको हो । निर्माता रेशम सापकोटाले मलिकाले चलचित्र छाड्नुको कारण उहाँको अध्ययन नै रहेको बताउनुभयो । ‘मलिकाले बिबिए अध्ययन गर्दै हुनुहुन्छ । चलचित्रको कार्यशाला गर्ने समयसम्म पढाइ अनलाइनमा हुने भन्ने थियो तर सोचेभन्दा अगाडि नै कलेजको फिजिकल क्लास हुने भएपछि उहाँले समय दिन सक्नुभएन । अन्य कारण केही छैन’, सापकोटाले प्रष्ट पार्नुभयो ।

निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को चलचित्रको छायांकन मिति जुधेपछि उहाँले समय दिन सक्नुभएको थिएन । उपासनाले पहिलो पटक चलचित्रमा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्दै हुनुहुन्छ । चलचित्रमा अनुपविक्रम शाही र अभय बरालको मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ ।

पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ । यो चलचित्रबाट महानायक राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लाग्नुभएको हो । यसकारण पनि ‘सत्यम’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षित बनेको छ । चलचित्रमा दक्षिण भारतीय चलचित्रहरूमा उदाइरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहनेछ ।

यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रवीन चापागाईं, अन्विशा खड्कीलगायत अन्य कलाकारले डेब्यू गर्दै हुनुहुन्छ। नवयुग सिनेमाको प्रस्तुतिमा बन्ने ‘सत्यम’ लाई रेशम सापकोटाले लेख्नुभएको हो भने चलचित्रमा सापकोटाकै लगानी रहनेछ । गणेश पौडेल एसोसिएट निर्माता रहेको चलचित्रका सह–निर्माताहरूमा श्याम मल्ल र कृष्ण जोशी रहनुभएको छ ।

यो चलचित्र माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्वपूर्ण सिनहरू छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरूको दृश्यहरू छायांकन गरिनेछ ।