सर्वोच्चमा आ-आफ्ना स्वार्थको दाउपेच : केपी शर्मा ओली।

धनकुटा:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा वकिलहरूको दादागिरी चलिरहेको टिप्पणी गर्नुभएको छ । धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चर्किरहेको आन्दोलनप्रति लक्षित गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । अदालतमा देखिएको विवादका विषयमा दलहरू मौन रहेका बेला अध्यक्ष ओलीको यो अभिव्यक्ति आएको हो । यसअघि पनि उहाँले प्रधानन्यायाधीश जबराले मात्रै नभएर परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै जबरामाथि लागेको आरोपलाई विषयान्तर गर्न खोज्नुभएको थियो ।

अध्यक्ष ओलीले अहिले सर्वोच्च अदालत अगाडि लाठी चार्ज र हानाहान भइरहेकोप्रति आलोचनासमेत गर्नुभयो । जनताका समस्या हुँदाहुँदै न्यायाधीशहरू मुद्दा नहेरी आफ्नो स्वार्थमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘एमाले अलिकति कमजोर भयो भने कस्तो हुँदोरहेछ देख्नुभो नि ! पाँच दलको गठबन्धनको कानुनी क्षेत्रको मारामार, कहिले लात्ती हानाहान, कहिले बन्द हडताल । अहिले सर्वोच्च अदालतका अगाडि लाठी चार्ज तथा मारामार, हानाहान, को-कोहोलो के गर्‍या हो त्यो ? अदालत हो कि ? जनताका समस्या त्यतिकै छन्, न्यायाधीश मुद्दा हेर्दैनन् । जनताको मुद्दा हेर्दैनन् । आ-आफ्ना स्वार्थको दाउपेच । केही वकिलहरूको दादागिरी चलेको छ । हामीले जे भन्यो त्यही हुनुपर्छ ।’

छिन्ताङ हत्याकाण्डको ४३ वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति दिवस मनाउन अध्यक्ष ओली धनकुटा पुग्नुभएको हो । शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजना गरिएको स्मृतिसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापा ‘बादल’लगायत नेता÷कार्यकर्ता सहभागी हुनुभएको थियो । २०३६ साल कात्तिक २९ गते पञ्चायत सरकारविरोधी आन्दोलनको क्रममा कम्युनिष्टमा आस्था राखेको आरोपमा तत्कालीन सरकारले छिन्ताङमा १६ जनाको गोली हानेर हत्या गरेको थियो ।