‘स्थानीय तहमा हुने भ्रष्टाचार बढ्यो’
काठमाडौं:= अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक निकायहरूले वर्षभरको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने कानुनी व्स्था छ ।
राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो । आयोगको एकतिसौँ वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरीहरू पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताउनुभयो । उहाँले स्थानीय तहमा अनियमितताका उजुरीहरू बढीरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरूको नजिकको सरकारमा निगरानी बढेका कारण संख्यामा वृद्धि भएको बताउनुभयो ।
प्रवक्ता रिसालले अख्तियारले बयान गराउन स्थलगत रूपमा छानबिन गर्न नसकेका कारण मुद्दा दायरमा कमी भएको बताउनुभयो । उहाँले कतिपय कुरा आयोगले अनुसन्धान गर्न नसक्दा पनि कमी आएको बताउनुभयो । प्रवक्ता रिसालले आयोगको लक्ष्य तथ्य र प्रमाणको आधारमा निर्णय गर्ने भएकोले मुद्दा दायरको संख्यामा कमी आएको जानकारी गराउनुभयो ।
गत आर्थिक वर्षमा संघीय मामिला (स्थानीय तहसमेत) ३२.७२ प्रतिशत उजुरी परेका छन् भने शिक्षा (स्थानीय तहसमेत) १५.६१, भूमि प्रशासनमा ९.०९, वन तथा वातावरणमा ५.०१, स्वास्थ्य तथा जनसंख्यामा ३.९३, भौतिक पूर्वाधार तथा यातायातमा ३.७६, गृह प्रशासनमा ३.४७, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमा ३.०९, अर्थमा २.०९, नक्कली शैक्षिक प्रमाणपत्रमा ५.६१, गैरकानुनी सम्पत्ति आर्जनमा ३.३८ र अन्य क्षेत्रमा १२.२५ प्रतिशत उजुरी परेको आयोगले उल्लेख गरेको छ । गत आर्थिक वर्षमा २२ हजार ६२५ वटा उजुरी परेकोमा १४ हजार ५३२ वटा फस्र्योट भएको अख्तियारले बताएको छ ।




















