आँट गरेर पार्टी विभाजन गरेँ, आँट नभएकाहरू एमालेको ढोकामा रोएर बसे: नेपाल।

काठमाडौं:= नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूले आँट गरेर एमाले पार्टी विभाजन गरेको बताउनुभएको छ । नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालले यस्तो बताउनुभएको हो ।

प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति हुन्छ कि टाटा बाइबाई गर्दै नयाँ संरचना बनाउने काममा अगाडि बढ्नुपर्ने अवस्था आउने भएकाले आफूले सोही गरेको उहाँले बताउनुभयो । आफूले आँट गरेर विद्रोह गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले केही नेताहरू आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आँट नभएकाहरू ढोकाबाहिर रोएर कराएर बसिरहेका हुन्छन् । आँट हुनेहरू नयाँ संरचना बनाएर अघि बढ्छन्, किनभने समयले हामीलाई कुर्दैन ।’नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफूहरूले विद्रोह गरेर अघि बढेको उल्लेख गर्नुहुँदै कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पु¥याउन पनि विद्रोह अनिवार्य रहेको बताउनुभयो ।

‘सुकुम्बासी समस्या समाधान गर्न सरकारले ध्यान दिन्छ’

नेपालले सुकुम्बासीहरूका समस्या समाधानका लागि सरकारले ध्यान दिने बताउनुभएको छ । अव्यवस्थित रूपमा बसोबास गर्नेहरूलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरू किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनका लागि वामपन्थी शक्तिहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले किसानको हित र कल्याण गर्नु नै आफूहरूको राजनीतिको मूलविषय भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरूको भूमिका महत्वपूर्ण छ । किनभने वामपन्थीहरूले कृषि क्रान्तिको जति महत्व बुझेका छन्, कम्युनिष्टहरूले यसको जुन महत्व बुझेका छन्, कम्युनिष्टहरूले किसानलाई जति महत्व दिने गर्दछन्, यत्रो ठूलो संख्यामा फैलिएका किसानको मुक्तिको निम्ति कम्युनिष्टहरू नै लाग्ने गर्दछन् ।

त्यसो हुनाले हाम्रो शक्तिको आधार भनेको किसानहरू हुन् । किसानहरूको हित र कल्याण गर्ने कुरा नै हाम्रो राजनीतिको मूलविषय हो ।’ अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले कृषि क्षेत्रको रूपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमूल परिवर्तन हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा रूपान्तरण गर्ने कुराबाट हामी विमुख हुन सक्दैनौँ । हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ ।

नेपाली अर्थतन्त्रको बलियो आधारशीला भनेको कृषि क्षेत्रको रूपान्तरण हो । कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ । कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ।’

किसान महासंघ गठन

एकीकृत समाजवादी पार्टीले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । बलराम बाँस्कोटाको नेतृत्वमा गठन भएको महासंघका पदाधिकारीहरूलाई सोमबार पद तथा गोपनीयताको शपथ पनि गराइएको छ ।

महासंघमा नौजना उपाध्यक्ष रहेका छन् । बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का उपाध्यक्ष चयन हुनुभएको हो ।

प्रमेश पोखरेललाई महासचिवको जिम्मेवारी दिइएको महासंघमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल सचिव नियुक्त हुनुभएको छ । ३५१ जनाको राष्ट्रिय समितिको घोषणा गरिएको छ जसमा युवा किसान र महिला किसानलाई अनिवार्य राख्ने भनिएको छ । पदाधिकारीहरू र सदस्यहरूलाई अध्यक्ष नेपालले शपथ गराउनुभएको थियो ।