काठमाडौं:= नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारीका लागि आइतबार कतार प्रस्थान गरेको छ । महिला टोलीले कतारसँग तीन खेलको टी–२० सिरिज खेल्नेछन् ।
छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टोलीमा डली भट्ट, करुणा भण्डारी, ज्योति पाण्डे, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, संगीता राई, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ र सबनम राई हुनुहुन्छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत् टमाटाले सम्हाल्नुभएको छ । यस्तै टिम व्यवस्थापकमा जयन्ती भट्ट हुनुहुन्छ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ । छनोटमा ६ टोलीको सहभागिता रहनेछ । जसमा भुटान, हङकङ, कुबेत, मलेसिया, नेपाल र संयुक्त अरब इमिरेट्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्षस्थान हासिल गर्ने टोलीले ग्लोबल छनोट खेल्नेछ ।
नेपालले आइसिसी महिला टी-२० विश्वकपको एसियाली छनोटको पहिलो खेलमा आगामी सोमबार मंसिर ६ गते हङकङको सामना गर्नेछ । यसैगरी मंसिर ७ भुटान, मंसिर ९ गते कुबेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टिम हालै बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो । बंगलादेशमा रहँदा नेपाली टिमले बंगलादेशको स्थानीय टिमसँग सिरिज खेलेको थियो । नेपाली टिमले सो सिरिज २-१ ले जितेको थियो ।




















