पुुसमा ढाका कपडा तथा वस्तुु मेला।

काठमाडौं:= ढाका कपडा र सोसम्बन्धी वस्तुहरूको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यका साथ व्यवसायीहरूको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २ देखि ४ गते काठमाडौंको थापागाउँस्थित वानेश्वर ब्याङ्क्वेटमा प्रदर्शनी र सम्मेलन हुने भएको हो ।

विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीको छाता संस्थाका रूपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अघि बढाउन केही कठिनाइ परेको विगतको अनुभवका आधारमा संघलाई पुनर्गठनसमेत गर्ने गरी पुस २ गते देशभरका ढाका उद्योगी तथा व्यवसायीको राजधानीमा भेला आयोजना हुँदैछ । त्यस्तै पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्ने गरी तयारी भइरहेको संघले जनाएको छ ।

परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग व्यवसायमध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ । ढाका उद्योग व्यवसाय जुनसुकै स्थानमा पनि सजिलै सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको छ ।

जसबाट एकातिर ग्रामीण क्षेत्रमा स्वरोजगार तथा रोजगार एवं आय वृद्धि भएको छ भने अर्कोतिर अन्य मुलुक खास गरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड, नेदरल्यान्डलगायतमा निर्यात भई व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु¥याउँदै आएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

हाल ढाका तथा ढाकाजन्य वस्तुको गुणस्तर कायम गरी निर्यात गर्न सकिने अवस्था रहेको संघको भनाइ छ । विभिन्न शीर्षक जस्तै, हस्तकलाका वस्तु वा सुती कपडाअन्तर्गत ढाकाका वस्तु निर्यात भइरहेका छन् । देशभर पाँच हजारभन्दा बढी व्यवसायी रहेका छन् भने एक लाखभन्दा बढी संलग्न रहेको संघका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार ढाका कपडा उत्पादनमा परम्परागत सीप, शैली, डिजाइन, प्याटर्नको मात्र प्रयोग भइरहेकोमा पछिल्लो समय बजारको माग तथा बदलिँदो परिवेशअनुसार उत्पादन विविधीकरण कार्यको थालनी भएको छ ।